सम्पूर्ण अपडेट

नेप्सेमा सात महिना यताकै उच्च कारोबार, सोमबार सकारात्मक सर्किट लागेकोमा मंगलबार भारी गिरावट

644
Shares

काठमाडौं । सेयर बजारमा सात महिना यताकै उच्च कारोबार भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको भएपनि कारोबार रकम भने सात महिना यताकै उच्च भएको हो ।

आज नेप्सेमा कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन पछिल्लो १० महिना यताकै उच्च हो । यसअघि, २०८२ साउन ११ मा कुल २५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको नेप्से आज भने ३४.१२ अंकले घट्दै २८४१.३१ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन सोमबार भने कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुगेको थियो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको बजार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भएको थियो । समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको थियो ।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढेको थियो भने एक कम्पनीको सेयर मूल्य भने घटेको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।