
काठमाडौं । बुध्द एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतले आफैले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टी छोडेको घोषणाा गरेका छन् ।
५ महिना अगाडि मात्रै गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य भएर यो पार्टी खोलेर राजनीतिमा होमिएका बस्नेतले विहीबार भएको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेपछि देखिएको मतदाताको राष्ट्रिय स्वतन्त पार्टीप्रतिको लहरकैबीच आफू पार्टीबाट अलग भएको घोषणाा गरेका छन् ।
उनले अब आफू स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित रहने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमै एक वक्तव्य जारी गर्दै बस्नेतले हालको राजनीतिक संस्कार आफ्नो आत्मासँग मेल नखाएको निष्कर्षसहित दलको सीमाभित्र रहेर आफूले चाहेको योगदान दिन नसक्ने महसुस भएपछि फरक बाटो रोज्ने निर्णय गरेको बताएका हुन्।
बस्नेतले वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटना भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको विस्फोटका रूपमा देखिएको थियो।
उनले नवयुवाहरूले सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको सपना बोकेको उल्लेख गर्दै उक्त विद्रोहले २४ घण्टाभित्रै पुरानो सत्तालाई ढालेपछि देश नयाँ दिशातर्फ मोडिन सक्ने विश्वास जन्मिएको बताए।
यही विश्वासका आधारमा आफू नयाँ राजनीतिक अभियानमा सहभागी भई गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेको बस्नेतले स्पष्ट पारे।
बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने जनाएका छन्। उनले स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि तथा गुणस्तरीय माध्यमिक शिक्षामार्फत दिगो रोजगारी र समतामूलक समृद्धि सम्भव रहेको विश्वास व्यक्त गरेका छन्।
साथै बस्नेतले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिबद्ध रहन शुभकामना दिएका छन्। अन्य सबै लोकतान्त्रिक राजनीतिक दललाई पनि उनले शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले अब स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देशसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै आम नागरिकप्रति साथ, सहयोग र विश्वासका लागि आभार व्यक्त गरेका छन्।
विहीबार सम्पन्त प्रतिनिधिसभा निर्वाचनको लागि बस्नेतको पार्टी गतिशील लोकतान्त्रिकले देशैभरीबाट १६५ सिटको लागि जम्मा २ जना उमेदवार उठाएको थियो भने ११० सिटको समानुपातिकको लागि पनि जम्मा ११ सिटका लागि मात्रै उमेदवारी दिएको छ । यद्यपी उनको पार्टीले भने २० प्रतिशत मत नपाए सरकारमा नजाने र देश निर्माणमा गर्ने पार्टी बन्ने घोषणा गरेको थियो ।








प्रतिक्रिया