समयमा काम नगरेको भन्दै १५ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

98
Shares

काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत पुनस् ७ दिनको अल्टिमेटम दिएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४ क) बमोजिम यो सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ ।

सूचनामा उल्लेख भए अनुसार सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा, सडक डिभिजन ललितपुर लगायतका निकायबाट सिफारिस भएका व्यवसायीहरू यसमा परेका छन् ।

विकोई धुलिखेल जेभी बानेश्वर, अनुप कन्स्ट्रक्सन अछाम, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स झापा, अंसुमन निर्माण सेवा रुपन्देही, कृपा इन्जिनियरिंग कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, नागार्जुन आशिका जेभी काठमाडौं, फ्रन्टलाइन विल्डर्स एण्ड डिजाइनर्स ललितपुर, नारायण भागरथी निर्माण सेवा कैलाली, भुमिराधा बिल्डर्स विराटनगर, पन्थ तारालक्ष्मी जेभी गुल्मी, रिदम कन्स्ट्रक्सन कैलाली, केएम कन्स्ट्रक्सन धनुषा, टेक एण्ड सपना कन्स्ट्रक्सन पाँचथर, एबिसी निर्माण सेवा इलाम र गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभी धनुषालाई यस्तो ७ दिन स्पष्टीकरण सोधिएको छ ।

कालो सूचीमा परेमा ती निर्माण व्यवसायी वा कम्पनीले कालो सूचीमा राखिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन् ।