चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित


काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

आगलागी भएको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । यस्तै आगलागी भएको स्थानबाट २४ परिबार विस्थापित भएका छन् ।

प्रहरीका अनुसार मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाडौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ ।

‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

Skip This