
काठमाडौं । हिजोआज मानिसहरू ‘इजी मनी’ अर्थात् सजिलो पैसातर्फ आकर्षित भइरहेका छन् । मेहनत नगरी सहजै हजारौं रुपैयाँ आउने भएपछि डिजिटल माध्यमका विभिन्न उपाय अपनाउँदै सजिलै पैसा कमाउने लोभमा आफैं पीडित बन्न थालेका छन् ।
पैसा कमाउने सुरमा आफ्नो बैंक खाता बेच्छन्, स्क्यामरलाई भाडामा समेत लगाउँछन् । तर, पछिल्लो समय उनीहरू प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय पैसा पाइने लोभमा युवाहरूले बैंक खातासमेत बिक्री गर्न थालेको पाइएको हो । क्षणिक पैसाको मोहमा परेर बैंक खाता स्क्याम गर्नेहरुलाई चलाउन दिँदा वा बैंकको लगइन विवरण दिँदा कैयौं नेपाली स्क्यामको फन्दामा परी लाखौं रुपैयाँ डुब्ने जोखिम बढ्दै गएको छ ।
बैंक खाता बेचेको वा भाडामा लगाएका केही दृष्टान्त हेरौं ।
घटना १
राम थपलिया कक्षा ११ अध्ययनरत छन् । कास्कीबाट अध्ययनका लागि काठमाडौं आएका उनी फुर्सदको समयमा सामाजिक सञ्जाल चलाउँथे । सामाजिक सञ्जालबाट उनको चिनजान जिवन फुयाँलसँग भयो । उनीहरूबीच दोहोर कुराकानी भयो । कुराकानीकै क्रममा फुयाँलले थपालियालाई खाता खोलेर दिए एउटा खाता बराबर १० हजार रूपैयाँ दिने प्रस्ताव गरे ।
राम पनि खाता खोल्न सहमत जनाउँछन् । उनले कुराकानी भएकै दिन ३ वाणिज्य बैंकमा खाता खोल्छन् । उनले खाता खोलेको जानकारी जीवनलाई दिन्छन् ।
रामले तीन वटै बैंकको खाता विवरण फुयाँललाई पठाउँछन् । उनले पनि रामको तीनवटै खातामा १० हजारको दरले ३० हजारले हालिदिए । यसरी रामको सबै विवरण फुयाँलको साथमा पुग्यो ।
जब रामलाई एक्कासी साइबर ब्यूरोबाट फोन गयो । तब उनी झस्किए किनभने उनले फुयाँललाई दिएको खाताबाट ३ करोड रकम कारोबार भएको थाहा पाए ।
घटना २
सप्तरीका २२ वर्षीय श्याम शर्मा सामान्य परिवारका हुन् । परिवारमा दुई छाक खानका लागि मजदुरी गर्नुपर्ने अवस्थामा छन् उनी ।
श्यामले पनि रामको जस्तै विभिन्न बैंकमा खाताले खोले । उनले पनि पैसा पाउने प्रलोभनमा बैंकका ढोका र काउन्टरसम्म पुगे ।
भारतबाट आएका आफन्तले पैसा दिने प्रलोभनमा पारेपछि बैंकमा गएर खाता खोल्छन् । त्यसपछि बैंकको सम्पूर्ण विवरण तिनै उपलब्ध गराउँछन् ।
उनले खाताको विवरण उपलब्ध गराएबापत कुल ३ हजार पाए । केही समय ती आफन्त श्यामकै घरमा बसे ।
भारतको पूर्णियाबाट आएका आफन्तले बैंकको सबै सम्पूर्ण विवरण लिएर फर्के । आफन्तले बैंकको विवरण पाएपछि पैसा त्यहीँ खाताबाट झिक्न थाले । सोही खाता स्क्यामरले प्रयोग गर्न थाल्यो ।
उनलाई पनि रामलाई जस्तै ब्यूरोबाट चार महिनापछि फोन आयो । जब उनी ब्यूरोमा उपस्थित भए तब उनले थाहा पाए आफ्नो खाताबाट लाखौँ रुपैयाँ कारोबार भएको थियो ।
घटना ३
किर्तिपुरकी २१ वर्षीया सबिना महर्जन स्नातक तहमा दोस्रो वर्षमा अध्ययनरत छिन् । उनको कलेज र पकेट खर्चको लागि घरमा पैसा मागिरहने बानी थियो ।
मागेअनुसार उनले पैसा भने पाउँदिन थिइन् । कलेजमा सँगै पढ्ने एउटी साथीले उनलाई खाता बैंकको खाता अरुलाई प्रयोग गर्न दिएमा पैसा पाइने सुनाइन् ।
बैंकको खाता अरुलाई दिँदा पैसा पाइने कुरा उनको लागि नौलो थियो र पैसा कमाउने सजिलो उपाय पनि । यसभन्दा अगाडि उनले बैंकको खाता अरुलाई दिएर पैसा पाइने सुनेको थिइनन् ।
सबिनाले साथीमार्फत चिनेको एउटा अपरिचित ह्वाटसएप नम्बरमा आफ्नो बैंकको खाता र सम्पूर्ण विवरण पठाइन् । खाताको विवरण पठाएवापत उनले २५ हजार रुपैयाँ पाइन् । उनले केका लागि खाताको विवरण मागेको ? त्यो पनि सोधिनन् ।
खाता दिएको करिब ७ महिनामा सबिनालाई साइबर ब्यूरोबाट फोन गयो । ब्यूरोबाट फोनमा भनिएको थियो, ‘एकपटक भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा हाजिर हुनुहोला ।’
फोन आएको भोलिपल्ट उनी ब्यूरो पुगिन् । ब्यूरोका प्रहरीले अधिकारीले उनलाई सुनाए, ‘तपाईको नामको खातामा अरुको पैसा आएकाले उजुरी परेको छ ।’
सबिनाको खाताबाट ३५ लाख रुपैयाँ कारोबार भएको थियो । त्यो खातामा कसले र किन कारोबार गर्यो उनलाई थाहा थिएन । ब्यूरोबाट उनले थाहा पाइन् कि उनको खाता स्क्यामरले चलाएर धेरै मान्छेलाई ठगको रहेछ ।
०००
यी त केही प्रतिनिधि पात्र मात्र हुन् ।
मुलुकभर पछिल्लो समय बैंकिङ् तथा वित्तीय अपराधको घट्ना बढ्दै गएको छ । जहाँ मानिसहरू ‘इजी मनी’ तर्फ आकर्षित हुँदा यस्ता कार्यहरूमा संलग्न हुन थालेका छन् । सजिलै पैसा कमाउने लोभमा थोरै पैसा दिएर स्क्यामरले कसरी उसका खाता मार्फत गैकानुनी कारोबार गरिरहेको कुरा उनीहरुले प्रहरी अनुसन्धानमा पुगेपछि मात्रै थाहा पाउने गरेका छन् । खातावाहकले बैंकका खाताहरू अरूलाई वितरण दिएपछि आउने परिणामबारे थाहा नहुँदा स्क्यामरले परिचालित गरेको कुरा धेरैलाई थाहा हुँदैन ।
खाता बिक्री गर्नेहरू प्रहरी कहाँ पुग्दै
अरुलाई खाता प्रयोग गर्न दिएर पीडित बनेको भन्दै ब्यूरोमा उजुरी दिन आउनेको संख्या बढ्दै गएको नेपाल प्रहरीको साइबर ब्यूरोका सूचना अधिकारी दीपक अवस्थीले जानकारी दिए ।
अवस्थीका अनुसार पैसाको प्रलोभनमा परेर सुरुमा खाता अरुलाई प्रयोग गर्न दिन्छन् तर पछि ब्यूरोमा उजुरी परेपछि खातावाहकहरू आउने गरेका छन् ।
विद्यार्थी, अशिक्षित र मजदुरहरूले आफ्नो खाता अरूलाई प्रयोग गर्न दिने गरेको अवस्थीले क्लिकमान्डुलाई बताए ।
‘पैसा पाउने लोभमा अरुलाई खाता दिने गरेका छन् । काम नगरेर सजिलै पैसा पाइने भएपछि अरुलाई खाता प्रयोग गर्न दिने गरेको पाइएको छ,’ अवस्थीले भने, ‘खाता कसलाई र किन दिँदैछु भनेर अगाडि विचार नगरी दिन्छन् । ब्यूरोमा उजुरी परेपछि खातावाहकहरू अप्ठयारोमा परेको भन्दै आउने गरेका छन् ।’
स्क्यामरहरूले नेपालीको खाताबाट करोडौं रकम कारोबार गरेको देखिएको अवस्थीले उल्लेख गरे । खासगरी विदेशीले नेपालीको खाता प्रयोग गरेर नेपालीलाई नै ठगेका छन् । नेपाली खातामा नै पैसा हाल्न लगाउने गरेकाले विश्वास गरेर स्क्यामरको फन्दामा पर्ने गरेका छन् ।
अवस्थीले स्क्यामरहरूले क्रिप्टो र हुन्डीमार्फत विदेश पैसा लैजाने गरेको बताउँछन् । स्क्यामरहरूले भीपीएन प्रयोग गर्ने भएकाले कुन देशबाट चलेको थाहा नहुने उनको भनाइ छ ।
आखिर नेपालीहरूले यति ठूलो रकम अरूको खातामा किन हाल्छन् ? भन्ने प्रश्नमा अवस्थी भन्छन्, ‘टेलिग्राममार्फत चिनजान भएर वा आफन्त र साथीभाइको कुरा सुनेर अनलाइनमार्फत लगानी गर्ने गर्छन् । दुई देखि तीन गुणासम्म पैसा कमाउने प्रलोभनमा पैसा हाल्छन् । नेपाली खातामै पैसा जम्मा गर्छन । त्यसकारण पनि उनीहरूलाई आफू ठगिएको थाहै हुँदैन ।’
पीडितको पैसा फिर्ता हुन्छ त ?
पीडितहरूले पैसा फिर्ता पाउने न्यून सम्भावना रहेको अवस्थीको भनाइ छ । १० प्रतिशत पीडितले मात्र रकम फिर्ता पाउने गरेको उनको भनाइ छ । उजुरी दिएपछि मात्र उनीहरू सचेत हुने गरेका छन् ।
अवस्थीका अनुसार पार्सल लिन, चिठ्ठा, लोटरी परेको तथा एसएमसी एप र ओटीपी लिएर यसरी मानिसहरूलाई झुक्याइने गरेको छ ।
बैंकिङ सचेतना नहुँदा खाता बेच्ने र भाडामा लगाउनेहरू बढे
बैंकको खाताको महत्त्व र बैंकिङ सचेतना नभएकाले मानिसहरू सहजै आफ्ना बैंकका खाताहरू बाँड्न थालेको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउँछन् । बैंकिङको विषयमा धेरै सरोकार राख्नेहरूले यस्ता विषयमा सचेतना फैलाउनु पर्ने उनको सुझाव छ ।
‘परिचित वा अपरिचित जोकोहीलाई आफ्नो बैंक खाता किन दिँदैछु ? भनेर सोच्नुपर्छ । पैसा कारोबार गर्नुको उद्देश्य खुल्नुपर्छ,’ अधिकारी भन्छन्, ‘बैंकिङ कानुनका बारेमा जानकारी लिनुपर्छ । बैंकिङ कानुन जानेमा महत्त्वपूर्ण कुराहरू अरूलाई दिँदैन थिए ।’
प्रलोभनमा पर्ने मानिसहरू धेरै देखिएकाले यस्ता घट्नाहरू सार्वजनिक हुन थालेको अधिकारीको भनाइ छ । मुलुकमा रोजगार नहुँदा र उत्पादनकमुलक काममा नलाग्दा मानिसहरू थोरै–थोरै पैसाको लोभमा पर्न थालेको उनको बुझाइ छ ।
अहिलेका युवाहरूमा बढी महत्त्वकांक्षा भएकाले तीब्र रुपमा पैसाको खोजी गर्नेहरू बढ्न थालेको अधिकारीको धारणा गरे ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मुद्दा चल्छ । त्यसो गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने गर्छ ।
यता बैंक खाताबाट अनाधिकृत कारोबार नहोस् भनेर सबै बैंक खातामा केवाईसी अपडेट गर्नुपर्ने आवश्यकता अनुसार केन्द्रीय बैंकले निर्देशन दिन गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् । सानोसानो रकमको लाभ र छिटो पैसा कमाउने लोभमा बैंक खाता नै स्याकमरलाई दिने सवालमा केन्द्रीय बैंक र बैंकहरु मिलेर सचेतना बढाउने प्रयास पनि गरिरहेको पौडेलले बताए ।
यसैगरी डोरमेन्ट भएका (निष्क्रिय) खातालाई व्यवस्थापन गर्ने र थप केवाईसी भेरिफिकेसन गर्नुपर्ने जस्ता निर्देशन दिइने गरेको उनले बताए । ‘उजुरी आएका खाताको विषयमा प्रहरीसँगको समन्यनमा आवश्यक कारबाहीको लागि सहजीकरण र समन्वयन हुने गरेको छ,’ पौडेल भन्छन्, ‘नागरिकले यस्ता स्क्यामबाट जोगिन पहिलो त आफ्नो बैंक खाताको सुरक्षा आफैले गर्नुपर्छ र दोस्रो आफ्नो बैंक खाताको महत्त्वपूर्ण जानकारी कसैलाई पनि सेयर गर्नु हुँदैन । आफ्नो खाता आफैं चलाउनुपर्छ ।’







प्रतिक्रिया