एनपीएलमा सट्टेबाजी: रोक्न के भइरहेको छ प्रयत्न ?

56
Shares

काठमाडौं । भारतमा लोकप्रिय रहेको इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटका विभिन्न संस्करणमा त्यहाँको प्रहरीले सट्टेबाजहरूलाई नियन्त्रणमा लिएको समाचार सार्वजनिक भइरहन्छन् ।

प्रत्येक खेलमा करोडौं रकमको सट्टेबाजी हुने गरेको समाचारहरू सार्वजनिक हुने गरेको छ । विशेषगरी त्यहाँ सट्टेबाजहरूले घरहरू भाडामा लिएर यस्तो धन्धा गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सट्टेबाजहरूले सयौं थरीका बेट आइडी खुला गरेर प्रत्येक आइडीमा बाजी राख्ने रकमको लिमिटेसन राखेका हुन्छन् ।

त्यसैगरी, सट्टेबाजहरूले भने सांकेतिक कोड प्रयोग गर्छन् । सांकेतिक कोड भने पैसामा लगानी गर्ने र खेलाउनेले मात्र बुझ्ने गरेका छन् । भारतीय प्रहरीले समेत अनलाइन जुवामा प्रयोग गर्ने कोडहरू हटाउन नसक्दा उनीहरू समेत समस्यामा छन् ।

प्रत्येक खेलबाट करोडौंको कारोबार हारजीत हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको भारतीय सञ्चार माध्यम एबीपीले उल्लेख गरेको छ । सट्टेबाजहरूले ल्यापटप, धेरै संख्यामा मोबाइल, राउटर र मल्टीपल डिभाइस कनेक्ट गर्ने साधनहरू साथमा राख्ने गरेका हुन्छन् ।

हरेक वर्ष हुने आईपीएलमा सट्टेबाजहरू पक्राउ पर्छन् । तर पनि सट्टेबाजहरू नियन्त्रणमा आएका छैनन् । गत संस्करणको आईपीएल भइरहेको समयमा विहारबाट ७ जनालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो । यी त उदाहरण मात्र हुन् ।

एनपीएलमा सक्रिय सट्टेबाज

भारतमा आईपीएल जस्तै नेपालमा पनि यतिखेर नेपाल प्रिमियर लिग(एनपीएल) चलिरहेको छ । काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा एनपीएलको दोस्रो संस्करण जारी छ । कीर्तिपुरमा हजारौं दर्शकको उपस्थितिमा क्रिकेट भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको क्रिकेटले यतिबेला खेलप्रेमीमा उत्साह थपिरहेको छ भने आर्थिक अपराधमा संलग्नहरूको सक्रियता पनि बढेको पाउन सकिन्छ । एनपीएलको चर्चासँगै यसमा हुने सट्टेबाजी लगायतलाई नियन्त्रणमा लिन प्रहरीलाई चुनौती थपिएको छ ।

पहिलो सिजनको एनपीएलमा दर्जन हाराहारीलाई बेटिङको आरोपमा पक्राउ गरेको प्रहरीले दोस्रो सिजनको सुरुवाती दिनहरूमै १० जनालाई नियन्त्रणमा लिएको छ, जसमध्ये अधिकांश भारतीय रहेका छन् ।

त्यसक्रममा एक नेपाली पनि पक्राउ परेकी छन् । पक्राउ परेकाहरूले खेलाडीसँग सामाजिक सञ्जालहरूमार्फत सम्पर्क गरि ‘फिक्सिङ’ प्रयत्न गरेका थिए । सट्टेबाजी गराउने गिरोहले खेलाडीको प्रयोग गरि आफूले भने अनुसारको खेल परिणाम आफ्नो पक्षमा पर्ने गरेको उदाहरण विश्वका कयौं खेलमा देखिएको छ ।

फिक्सिङका आधारमा त्यस्ता समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल्ने गर्छन् जसलाई नेपाल प्रहरीले सुक्ष्म रुपमा निगरानी गर्ने गरेको जनाउँदै आएको छ ।

यतिखेर क्रिकेट मैदान परिसरदेखि होटलसम्म सट्टेबाजहरूको सक्रियता बढिरहेको छ । सट्टेबाजहरूका लागि एनपीएल आर्थिक अपराधको ‘इपिसेन्टर’ बनेको छ । भारतदेखि काठमाडौं आएर सट्टेबाजहरूले खेलाडीदेखि नेपाली खेलप्रेमीलाई धेरै कमाइ हुने प्रलोभनमा पारिरहेका छन् ।

सबैको निगरानी

मैदान तथा रंगशाला भित्रको गतिविधि तथा व्यवस्थापनको कामको जिम्मेवारी मात्र नेपाल क्रिकेट संघले हेर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । लामाका अनुसार खेल भइरहँदा आर्थिक अपराधका गतिविधि नियन्त्रण गर्न सरोकारवाला निकायले निगरानी गरिहेका छन् ।

नेपाल प्रहरी तथा अनुसन्धान विभागका विभिन्न कर्मचारीहरूले मैदान बाहिर बसेर आफ्नै किसिमले अनुसन्धान गरिहेको प्रवक्ता लामाले बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एन्टी करप्सन युनिट (एसीयु)को तर्फबाट पनि एनपीएलमा हुने ‘म्याच फिक्सिङ’ र सट्टेबाजीबारे मनिटरिङ भइरहेको क्यानले जनाएको छ ।

प्रहरीले अनुगमनका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदान र वरपरबाट सट्टेबाजको गतिविधिलाई नियाल्न र नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी खटाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले बताए । सरोकारवाला निकायसँग समन्वय गरेर सट्टेबाजलाई नियन्त्रण गर्न लागिपरेको आचार्यको भनाइ छ ।

अनुसन्धान कार्यालयले अनलाइन बेटिङको प्राविधिक पक्ष बुझेका प्रहरीलाई फिल्डमा खटाएको जनाएको छ । सादा पोशाकमा १५ जना प्रहरी परिचालित छन् ।

‘शंकास्पद गतिविधि गर्नसाथ नियन्त्रणमा लिएर अफिसमा ल्याउने गरेका छौं,’ सूचना अधिकारी आचार्यले भने, ‘नियन्त्रणमा लिएका सट्टेबाजहरूको डिभाइस अध्ययन गरिरहेका छौं । उनीहरूको सम्पर्क कहाँसम्म छ भनेर हेरिरहेका छौं ।’

सट्टेबाज हुन नदिन सीआईबी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकसाथ निगरानी गरिरहेको छ । गत वर्षको एनपीएलमा दर्जन हाराहारी सट्टेबाजलाई नियन्त्रणमा लिएको थियो ।

गत वर्षजस्तै यसवर्ष पनि सट्टेबाजी नहोस् भनेर सुरुबाटै सचेत भएर लागेको आचार्यले बताए । ‘एक सातामै सट्टेबाज पक्राउ परेकाले सचेत भएर अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘मुलुकमा सट्टेबाज गर्नेहरूलाई नियन्त्रण गर्न थप चुनौती बनेको छ ।’

आचार्य अहिलेसम्म भारतीयहरू अनलाइनमा सक्रिय देखिएको बताउँछन् । नेपाली दर्शकलाई अनलाइन जुवाको लतमा लगाउने र थोरै लगानी गरेर धैरै कमाउन सकिने प्रलोभनमा पार्न खोजिरहेको उनको भनाइ छ ।

बैंकहरूको खाताको निगरानी आवश्यक

सट्टेबाजी नियन्त्रण गर्ने साइटहरू बन्द गर्नुपर्ने आचार्यले सुझाए । त्यससँगै अनलाइन बेटिङमा प्रयोग भएका बैंकका खातालाई निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘बैंकहरूले अनलाइन बेटिङमा प्रयोग भइरहेको खाताको निगरानी गरिदिनुपर्छ,’ उनले अगाडि थपे, ‘यसबाट राज्यले ठूलो राजस्व गुमाउने जोखिम बढ्दै गएको छ । मानिसहरू जुवा खेलेर कमाउनुपर्छ भन्ने लत बस्ने धारणा विकास हुने भयो । पैसा हारेपछि मानिसहरू अपराध कर्म गर्न आकर्षित हुने देख्यो यसले कालान्तरमा ठूलो समस्या निम्त्याउने देख्यो ।’

सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्थाहरूले शंकास्पद खाताहरूको निगरानी गरेमा सट्टेबाज नियन्त्रण गर्न सकिने आचार्यको भनाइ छ ।

हालसम्म एक नेपाली महिलासहित ९ जना भारतीयहरूलाई काठमाडौंको क्रिकेट मैदान परिसर लगायत विभिन्न ठाउँबाट २ करोडभन्दा बढी कारोबार गर्ने सट्टेबाजहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

खेलाडीलाई प्रायोजन गर्नेदेखि बेटाकुलर डट लाइभ लगायतको साइटबाट हारजितको अनुमान गर्न लगाउने सट्टेबाजहरू यतिखेर प्रहरी हिरासतमा छन् । अझै पनि उनीहरूजस्ता सट्टेबाजीहरूले प्रयोग गरेका डिभाइसको आधारमै काठमाडौं वा विदेशमा कति जना छन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

इजी मनीमा शिक्षित र किशोर युवाहरू आकर्षित

मुलुकमा शिक्षित वर्ग तथा योग्यता पुगेका मानिसहरूका लागि अवसर नभएकाले इजी मनीतर्फ आकर्षित हुँदा अनलाइन जुवामा लगानी गर्ने मानिस बढिरहेको साइबरविज्ञ सन्तोष सिग्देलले बताए । पछिल्लो समय अनलाइन गेममा नेपाली किशोरहरू बढी संलग्न पाइएको उनको भनाइ छ ।

अनलाइन जुवाका कानुनी प्रावधान वा बाधा अड्चनको बारेमा नबताउनले पनि मानिसहरू यस्तोमा लागिरहेको उनी बताउँछन्।

‘सजिलै पाइने कुरामा मानिसहरूको ध्यान आकृष्ट हुने भएकाले जुवा जस्ता खेलमा मानिसको आकर्षण बढेको हुन सक्छ,’ सिग्देलले भने, ‘अनलाइन गेमलाई रेगुलेट गर्ने नेपालमा कानुनी व्यवस्था छैन । त्यस्ता कमजोरी पक्षलाई केलाएर सट्टेबाजहरू सक्रिय भएका छन् । गैरकानुनी मानिएका कुराहरू विज्ञापनमा देखा परिरहेका छन् ।’

घरमा बसेर वा केही घण्टामै हजारौं रुपैयाँ कमाउने प्रलोभनमा परेर सट्टेबाजमा लाग्ने गरको सिग्देलको बुझाइ छ । सामाजिक सञ्जाल तथा इन्टरनेटमा अनलाइन बेटिङको विज्ञापन आउन नदिने गरेर सरकारले व्यवस्था गर्न उनले सुझाए ।

सामाजिक सञ्जालमा देखिएका विज्ञापनलाई नियमित अनुगमन नगर्दा यस्ता अनलाइन गेममा नेपालीहरूको आकर्षण बढिरहेको सिग्देलले बताए । ‘सबैभन्दा बढी मानिसहरू केमा व्यस्त छन् ? त्यसबारेमा जानकारी लिनुपर्छ,’ सिग्देलले अगाडि थपे, ‘यसले गर्दा प्रयोगकर्ताहरूको एकाउन्टेबेलेटी के हो ? भनेर थाहा पाइन्छ । मुख्यकुरा यसमा सबैभन्दा बढी सजग प्रयोगकर्ता हुनुपर्छ ।’

जुवा खेलाउँदा र खेल्दा कस्तो कारबाही हुन्छ ?

नेपालमा अनलाइन बेटिङलाई पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ । जुवा ऐनले पनि बेटिङलाई चिनेको छैन । जसले गर्दा अनलाइन लगायतका अन्य जुवालाई पूर्णरुपमा प्रतिबन्ध गरिएको छ ।

नेपालमा संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट रुपमा बताइएको छ । यो ऐन अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।’

२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

बढ्ने क्रम पनि चुनौती थपिएको छ । जसले गर्दा नेपालीहरूको आर्थिक आम्दानीमा ह्रास आउने उत्तिकै सम्भावना रहेको छ ।
नेपालीहरूले विभिन्न स्रोतबाट आम्दानी गरेका हुन्छन् । बेटिङ जुवामा लाग्दा केही क्षणमै सम्पत्ति नोक्सान हुने उत्तिकै जोखिम पनि छ । अवैधानिक रुपमा पैसा विदेशिने र नेपालीहरूमा जुवाको तल लागेर निरीह बन्दै जाने सम्भावना बढ्दै गएको छ ।