
काठमाडौं । टेकुस्थित नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय पुग्दा सामाजिक सञ्जालमा देखिने विज्ञापनबाट ठगिएपछि उजुरी गर्न आउनेहरु प्रसस्तै भेटिन्छन् । मुलुकभर पछिल्लो समय वित्तीय अपराधको घटना बढेको समाचार र तथ्यांक सार्वजनिक हुन् थालेपछि किन, कसरी र कस्ता मानिस ठगिको फन्दा पर्छन् भन्ने बुझ्न प्रहरी कार्यालयमा पुग्दा त्यहाँ दुई महिलालाई भेटिए ।
‘तपाईंहरू के भएर यहाँ आउनु भएको हो ?’ भन्ने क्लिकमान्डुको प्रश्नमा उनीहरुले सामाजिक सञ्जालमा देखिने विज्ञापनबाट ठगिएपछि उजुरी दिन आएको सुनाए ।
घट्ना– १
घरायसी र फर्निचर सबै कुराको व्यवस्था उनको थियो घरमा । घरको दराज पुरानो भएकाले नयाँ ल्याउने सोचाइमा थिइन रिना श्रेष्ठ (४६) । उनले फेसुबकमा आकर्षक दराजसहतिको फोटो विज्ञापन देखिन्, ’सस्तो मूल्यमा दराज उपलब्ध छ । घरसम्म दराज डेलिभरी हुन्छ ।‘
विज्ञापनमा फोन नम्बर र मूल्यसहितको दराजको फोटो थियो । काठमाडौँमै घर भएकी रिनाले तुरुन्तै फोन गरिन् । रिना भन्छिन्, ’ विज्ञापन अनुसारको दराज चाहिएको छ । १६ हजार रुपैयाँ मात्र हो भने म लिन तयार छु ।‘
फोन रिसिभ गर्ने पुरुष थिए । अपरिचित पुरुषले जवाफ जवाफमा भन्छन्, ’ तपाईंले भनेजस्तै दराज उपलब्ध छ । छानेर लेखिएको मूल्यमा दराज पाइन्छ । घरसम्म दराज ल्याएर छोडिदिन्छौं । तर, दराजको अगाडि नै मूल्य तिर्नुपर्छ । एक सातासम्म तपाईंको घरमा आइपुग्छ ।‘
रिना पनि भनेजस्तै दराज सस्तो मूल्यमा पाइने भएपछि मख्ख परिन् । कुराकानी सकिएको केही क्षणमा उनलाई विज्ञापनमा भएको नम्बरबाट ह्वाट्सएपमा क्युआरसहितको म्यासेज आउँछ ।
उताबाट म्यासेजमा लेखियो,’ दराज लैजाने भए अग्रिम भुक्तानी गर्नुपर्छ ।‘ रिनाले तुरुन्तै नबिल बैंकको क्यूआरमा १० हजार भुक्तानी गरिन् ।
एक सातापछि बाँकी पैसा पठाउनु पर्छ भन्दै फेरि रिनालाई ह्वाट्सएपमा म्यासेज आयो । ‘पुरा पैसा पठाएपछि मात्र दराज डेलिभर हुन्छ,’ ह्वाटसएपा भएको कुराले रिना शसंकित बनिन् ।
लगत्तै उनले आफन्त र साथीहरूसँग कुराकानी गर्दा आफू ठगिएको तथा विज्ञापनमा भर गर्न नहुने तथा नजिको प्रहरी कार्यालयमा गएर उजुरी हाल्न सल्लाह पाइन् ।
घटना– २
शंकरदेव क्याम्पसमा बीबीएस तेस्रो वर्ष अध्ययनरत सीता यादवले (२३) अनलाइनबाट आइफोन १३ प्रोम्याक्स मूल्यसहितको विज्ञापन देखिन् । हुम्लाका युवकसँग विज्ञापनमा भएको नम्बरमा सीताले सम्पर्क गरिन् ।
सीताले विज्ञापनमा भएको नम्बरमा फोन गरेर आइफोन चाहिएको बताइन् । फोनको मूल्य ८७ हजार रूपैयाँ राखिएको थियो । फोनमा कुराकानीपश्चात् अगाडि पैसा पठाउनुपर्ने उनले जवाफ पाइन् । लगत्तै सीताले ह्वाट्सएपमा आएको क्यआरमा ५२ हजार पठाइन् ।
सीताले ती युवकलाई केही दिनपछि पुनः सम्पर्क गर्दा पूरा पैसा हालेपछि मात्र मोबाइल पठाइदिने जवाफ पाइएको बताइन् । त्यसपछि उनले उसको कुरामा विश्वास गर्न छोडिन् । पछि फोन गर्दा फोन नलाग्ने पुरै अफ भएपछि उनले आफू ठगिएको महसुस गरिन् ।
घटना–३
किर्तिपुरका राज शाक्य फेसनमा रुचि राख्छन् । बजारमा आएका नयाँ-नयाँ ब्राण्डका लुगाहरू किन्न रुचाउँछन् । उनी प्रायःजसो अनलाइनबाट लुगा खरिद गर्छन् । शाक्य इन्स्टाग्राम प्रयोगकर्ता हुन् । इन्स्टाग्राममा विभिन्न खालका ज्याकेट, पेन्ट र जुत्ताको मूल्यसहितको विज्ञापन देखे ।
‘विज्ञापनमा सबै लुगा र जुत्ताको मूल्य गरेर २२ हजार मूल्य राखिएको थियो,’ शाक्यले भने । उनले पनि सबै लुगा पाउनका लागि अग्रिम ५० प्रतिशत रकम पठाए।
पैसा पाउनसाथ लुगा पठाइदिने शर्त विज्ञापन गर्ने व्यक्तिले शाक्यलाई वाचा राखेका थिए । तर पैसा पाएपछि उनले लुगा पठाइदिएनन् । पुनः उनले ६ हजार पठाए । त्यसपछि शाक्यले पाएनन् । फेरि फोन गर्दा स्टोरबाट लुगा आए पनि जुत्ता नआएको भनेर शाक्यलाई ती युवकले टारिरहे ।
भोलिपल्ट फोन गर्दा सबै भुक्तानी गरेपछि मात्र लुगा पठाइदिने जवाफ पाए । शाक्यले फेरि पुरै पैसा भुक्तानी गरे । तर, पैसा पुगेको केही समयमा कुराकानी भइरहेको मोबाइलमा फोन गर्दा लागेन । ह्वाट्सएपमा गर्दा लागेन । त्यसपछि भने अनलाइनमा गरिएको विज्ञापनमा भर पर्दा ठगिएको महसुस गरे ।
प्रविधिको विकाससँगै मुलुकभर अपराधको स्वरुप ‘डिजिटाइजेशन’ हुन थालेको छ। पछिल्लो समय काठमाडौँ उपत्यका लगायत मुलुकभर अपराधको स्वरूप फेरिन थालेको छ ।
प्रविधिको सहारामा वित्तीय अपराध मौलाउँदै
वित्तीय अपराध प्रविधिको सहाराबाट हुन थालेको छ । विशेषगरी आर्थिक आपराधिक क्रियाकलाप मोबाइल र सामाजिक सञ्जालको सहाराबाट हुन थालेको छ ।
चिठ्ठा परेको भनी ठगी, पार्सल आएको, अनलाइन विज्ञापन, फेसबुक ह्याक, ईसेवा ह्याक, ओटीपी प्रयोग गरी ठगी, वालेट, रोजगारीको विज्ञापन, इन्भेष्टमेन्ट स्क्याम, सोसल मिडिया ह्याक, थर्ड पार्टी कन्ट्रोल एप बनाएर ठगी, उत्तराधिकारी बनाएर ठगी र अनलाइन जब स्क्याम गरेर वित्तीय अपराध बढ्न थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी अनलाइन विज्ञापनबाट सामान खरिद गर्ने भनेर १ हजार ४८१ जना पीडित बनेका छन् । आर्थिक वर्ष २०७७/७८ मा ४३ विज्ञापन राखी ठगी मुद्दा दर्ता भएकोमा क्रमशः २०७८/०७९ मा ८४, २०७९/०८० मा ३३९, २०८०/०८१ मा ४९२ र २०८१/०८२ मा ५२३ पीडित भएका थिए ।
पार्सल नपाएको भन्दै ठगीमा पर्नेको संख्या वर्षेनी बढ्दो रहेको तथ्यांकमा उल्लेख छ । ५ आर्थिक वर्षमा कुल १ हजार १५५ जना पीडित बनेका छन् । आ.व. २०७७/७८ मा ४३, २०७८/०७९ मा १४८, २०७९/८० मा ३४०, २०८०/०८१ मा ४१४ र २०८१/०८२ मा २१० पीडित भएका थिए ।
त्यसैगरी, ओटीपी कोड प्रयोग गरेर ठगी गर्नेको संख्या पनि उत्तिकै रहेको छ । चार आर्थिक वर्षमा ओटीपी प्रयोगमा ४९० जना ठगिएका थिए । आ.व २०७८/७९ मा ३३,२०७९/०८० मा १२०,२०८०/०८१ मा १५९ र २०८१/०८२ मा १७८ जना पीडित बनेका छन् ।

अनलाइन ठगीमा पीडित हुनेमा महिला धेरै
फेसबुकमा अपरिचित कम्पनी र व्यक्तिले गरेका विज्ञापनबाट ठगिनेको संख्या बढिरहको कार्यालयका एक अनुसन्धान अधिकृतले बताए । विज्ञापनको रोजगार, पार्सल आएको र सामान खरिद गरेर ठगीमा परेको भन्दै उजुरी दिनेको संख्या बढिरहेको उनको भनाइ छ ।
‘दैनिक ५० जनाको हाराहारीमा निवेदन लिएर आउने गरेका छन्,’ ती अनुसन्धान अधिकृतले क्लिकमान्डुसँग भने,’ अनलाइन स्क्याममा परेका भन्दै पीडितहरू आउँछन् ।‘
अनुसन्धान अधिकृतका अनुसार कलाकार, सरकारी कर्मचारी, गृहिणी, नेपाल प्रहरीका कर्मचारी, नेपाली सेनाका कर्मचारी, चिकित्सक, इन्जिनियर र पाइलटसमेत अनलाइनका विभिन्न स्क्यामबाट पीडित बनेका छन् । अधिकांश पीडितहरू २० देखि ३५ वर्ष उमेर समूहका मानिसहरू छन् ।
पुरूषभन्दा बढी महिलाहरू अनलाइनका विभिन्न प्लाटफर्मको स्क्याममा पीडित बनेका छन् ।

मानव सभ्यताको मुख्य शत्रु अपराध
डिजिटाइलेजसनको माध्यमबाट अपराध फरक विशेषता भएका मानिसले मात्र गर्न सक्ने मानसिक अस्पताल पाटनका डा. अनन्त अधिकारी बताउँछन् । एन्टी सोसल तथा असामाजिक प्रवृत्ति भएका मानिसहरू अपराधिक गतिविधिमा सहभागि हुने गरेको उनको बुझाइ छ ।
डा. अधिकारीका अनुसार एन्टी शोसल मानिसहरू कानुन नमान्ने, अरूलाई दुःख दिँदा खुसी हुने । आफू अरुभन्दा कसरी फरक देखिन्छ भनेर अभ्यास गर्नेहरू विभिन्न माध्यमबाट अपराध गर्न तल्लिन हुन्छन् ।
‘मानव मनोविज्ञानको एउटा मुख्य शत्रु भनेको अपराध गर्न तयार रहनु हो । प्रविधिको विकाससँगै मानिसहरूले यसलाई अपराधिकरणको साधन बनाएका छन्,’ डा. अधिकारी भन्छन्,’ पुरानो समयमा भौतिक रुपमा लुट्ने, चोर्ने र हत्या गर्थे । अहिले भने समयको विकाससँगै प्रविधिको विकासले अपराध गर्ने माध्यम फेरियो । मानिसहरूले डिजिटिल माध्यमलाई अपराध गर्ने स्थान बनाएका छन् ।‘
डा. अधिकारीले भौतिक संसारमा जस्तो घटना हुन्थ्यो भर्चुअल माध्यममा त्यस्तै घटना दोहोरिन थालेको बताए । खराब मनोवृत्ति भएकाले समयको दिएको उपहार ठानेर यसलाई गलत कर्ममा लाग्ने गरेको उनको भनाइ छ ।
आपराधिक मनोवृत्ति भएका मानिसहरूले सोसल मिडियामा कस्ता कस्ता सामग्रीहरू राख्ने पूर्णरुपमा अध्ययन गरेर मात्र विज्ञापन गर्ने डा. अधिकारीको बुझाइ छ । उनीहरूले सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको माध्यम ठानेर अपराध कर्म गर्ने गरेको उनले बताए ।
अनलाइनबाट हुने आपराधिक क्रियाकलापको अन्त्य गर्न नसके पनि घटाउन भने सकिने डा. अधिकारीले दाबी गरे । सरोकार निकायले नियमन गर्ने, अनलाइनमा देखिने सबै कुराहरूमा विश्वास नगर्ने र सबैजना जिम्मेवार बन्न सकेमा यस्ता आपराधिक घटनाहरू कम हुने उनको विश्वास छ ।

आकर्षकमा विज्ञापनमा लोभिदैँ शिक्षित
अनलाइनमा आकर्षक विज्ञापन देखाएर ठगी गर्नेहरूबाट पीडित बनेर उजुरी गर्नेको संख्या बढिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।
सामाजिक सञ्जालमा देखिएका विज्ञापनहरूलाई विश्वास गर्दा ठगिएकाहरू बढी आइरहेको आचार्य बताउँछन् ।
‘पछिल्लो समयको ट्रेण्ड हेर्दा विज्ञापनबाट पीडित हुनेको संख्या बढी छ,’ सूचना अधिकारी आचार्य भन्छन्,’ दैनिक ३-४ वटा निवेदन उजुरी पर्ने गरेका छन् ।‘
अनलाइन स्क्यामरहरूले विद्यार्थी, मजदुर र अशिक्षित मानिसहरूको खाता प्रयोग गरेर ठगी गर्ने गरेको आचार्यले जानकारी दिए। उनी भन्छन्, ’खाताबाहक प्रहरीसमक्ष आइपुग्दा उनीहरू पीडितजस्ता देखिन्छन् । केहीले तिर्छन् र नतिर्नेहरूलाई कार्यालयले मुद्दा चलाउने गरेको छ ।‘








प्रतिक्रिया