एक सय उन्नाइस उद्योगको म्याद थप, अधिकांश जलविद्युत् क्षेत्रका
काठमाडौँ । उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ ।
विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थप गरेको हो ।
असोज ३० देखि पुस ३० गतेसम्म म्याद थप गरिएकोमा सो समयसीमाभित्र ११९ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एक पटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएकोमा हालसम्म ११९ उद्योगले म्याद थप गरेको र ३०/३५ उद्योग म्याद थप प्रक्रियामा रहेको जानकारी दिए ।
म्याद थप भएका उद्योगमध्ये अधिकांश जलविद्युत् क्षेत्रका छन् ।
विभागले म्याद थपका लागि दिएको समयावधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा ९५० बमोजिम स्वतः रद्द गरिने जनाएको छ ।
विभागमा विदेशी लगानीका साना, मझौला र ठूला गरी हालसम्म सात हजार २६० उद्योग दर्ता भएका छन् । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
१० करोड रुपैयाँभन्दा कम लगानी भएका उद्योगलाई साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म लगानी भएका उद्योगलाई मझौला र २५ करोड रुपैयाँभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा विभागले दर्ता गर्दै आएको छ ।
स्वदेशी लगानीका साना उद्योगको दर्ता भने साना तथा घरेलु उद्योग विभाग र साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् ।