पल कपुर बने अमेरिकाको दक्षिण एसिया मामिला उपमन्त्री, आणविक हतियार र इस्लामी लडाकुका ज्ञाता

140
Shares

एजेन्सी । भारतीय मूलका पल कपुरलाई अमेरिकाको विदेश मन्त्रालयको दक्षिण एसिया मामिला उपमन्त्रीका रूपमा नियुक्त गरिएको छ ।

मंगलवार अमेरिकी संसद् सिनेटले उनको मनोनयनलाई स्वीकृति दिएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा भारतीय पिता र अमेरिकी माताका छोरा पल अमेरिकी प्राध्यापक हुन् । उनले यूएस नेभल पोस्टग्राजुएट स्कूलमा प्राध्यापन गर्नुका साथै हुभर इन्स्टिट्युशनमा भिजिटिङ स्कलरका रूपमा पनि काम गरेका छन् ।

उनले एमहर्स्ट कलेजबाट स्नातक गर्नुका साथै शिकागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनले आणविक प्रतिरोध, इस्लामी लडाकु र दक्षिण एसिया तथा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा संरचनाका विषयमा प्राध्यापन र शोध गर्र्दै आएका छन् । भारत र अमेरिकाबीचको रक्षा नीति संवादमा उनी सक्रिय सहभागी रहँदै आएका छन् । सरकारी र गैरसरकारी कूटनीतिक च्यानलमार्फत ट्रयाक १.५ छलफलमा उनी सहभागी हुने गरेका छन् ।

कपुरले आफूअघिका उपमन्त्री डोनल्ड लुलाई विस्थापित गर्ने भएका हुनु । लुले नेपालमा एमसीसी पारित गराउनका लागि दबाब दिने क्रममा नेताहरूलाई धम्क्याएको कुरा बाहिरिएको थियो । पाकिस्तानमा इमरान खानको सरकार ढलाउनका लागि पनि लुले भूमिका खेलेका थिए ।

भारतसँग राम्रो सम्बन्ध बनाएका पल कपुरले दुई देशको थुप्रै साझा सरोकार रहेको बताएका छन् । खुला र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्र, व्यापार र आर्थिक सम्बन्ध विस्तार, प्रविधि र नवप्रवर्तनमा सहकार्य सुदृढीकरण तथा आर्थिक वृद्धिका लागि भरपर्दो ऊर्जा पहुँचको सुनिश्चितता लगायतका विषयमा भारत र अमेरिकाले मिलेर काम गर्न सक्ने उनको धारणा छ ।

कपुरले दक्षिण एसियामा आणविक हतियार र इस्लामी लडाकुका विषयमा थुप्रै पुस्तकहरू लेखेका छन् ।