
एजेन्सी । बंगलादेशले २० वटा चिनियाँ जे–१०सीई लडाकु विमानहरू किन्ने योजना बनाएको छ ।
ती विमानहरू किन्नका लागि २.२ अर्ब डलर लाग्ने बताइएको छ ।
यस सम्झौताले प्रशिक्षण, मर्मतसम्भार र अन्य खर्चहरूलाई पनि समेट्ने बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सरकारी कागजात उद्धृत गर्दै समाचार दिएको छ ।
सन् २०२६ र २०२७ मा बंगलादेशले लडाकु विमान प्राप्त गर्नेछ । यसले बंगलादेशको वायुसेनालाई आधुनिकीकरण गर्नेछ र हवाई प्रतिरक्षालाई बलियो बनाउनेछ ।
हतियार खरिद सम्झौताको आधिकारिक घोषणा भएको छैन । तर, बिजनेस स्ट्यान्डर्डले सार्वजनिक खरिद सम्बन्धी आधिकारिक कागजातको समीक्षा गर्दा यी विमानहरूको भुक्तानी सन् २०३६ सम्ममा गरिसक्ने जानकारी दिएको छ ।
यस विषयमा पत्रकारहरूले प्रश्न गर्दा अर्थ सल्लाहकार सालेहुद्दीन अहमदले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
जे–१०सीई चीनको जे–१०सीकै निर्यात संस्करण हो । चिनियाँ वायुसेनाले यो लडाकु विमान उपयोग गर्दै आएको छ । गत मे महिनामा भारतसँग चार दिनसम्म चलेको लडाइँमा पाकिस्तानले यही लडाकु विमान उपयोग गरेको थियो ।
प्रत्येक विमानलाई ६ करोड डलर पर्नेछ र पूरा जत्थालाई १.२ अर्ब डलर पर्नेछ । प्रशिक्षण र मर्मतसम्भारलाई थप ८२ करोड डलर पर्नेछ ।
बीमा, भ्याट, एजेन्सी कमिशन लगायतका अतिरिक्त खर्च समेत जोड्दा कुल २.२० अर्ब डलर पर्नेछ ।
बंगालदेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले चीन भ्रमणको समयमा लडाकु विमान किन्ने प्रस्ताव राखेका थिए र चीनले त्यसमा सकारात्मक प्रतिक्रिया दिएको थियो ।
बंगलादेशको वायुसेनासँग २१२ वटा विमान छन् जसमध्ये ४४ वटा लडाकु विमान हुन् ।








प्रतिक्रिया