
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्।
आज (शुक्रबार) देखि असोज २० गतेसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान रहेकाले विपद् व्यवस्थापन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
बिहीबार मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन्।
उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए।
सम्भावित विपद्लाई ध्यान दिई गृहमन्त्री अर्यालको उपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा भर्चुअल बैठक गरिएको हो।
बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थित थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० सम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
अत्यन्त जरुरी नभए असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गरेको हो।
पाँच प्रदेशभित्रका बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तह आसपास पुग्न सक्ने अनुमान छ।
बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो ९अग्लो० र सुरक्षित स्थानबारे जानकारी लिन र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो।








प्रतिक्रिया