संविधान दिवसको पूर्वसन्ध्यामा प्रचण्डले भने: जेनजी आन्दोलन जनयुद्धका अधूरा एजेन्डाको निरन्तरता

119
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा पुगेको बताएका छन् । संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले वर्तमान जेनजी आन्दोलनलाई माओवादी जनयुद्धका अधूरा एजेन्डाको निरन्तरताका रूपमा टिप्पणी गरे ।

दाहालले आन्दोलनका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलनमा गरिएको दमनको कडा आलोचना गरे । उनले संविधानसभा कालमै माओवादीले अघि सारेका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता एजेन्डा अहिलेको आन्दोलनसँग मेल खाने भन्दै त्यतिबेला फरक मत स्वीकार नगरेकै कारण आजको विद्रोहको अवस्था आएको बताए ।

‘संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न सकिन्थ्यो, तर त्यो ऐतिहासिक अवसर गुमाइयो,’ प्रचण्ड सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दाहालले पार्टीतर्फबाट भएका कमजोरी स्वीकार गर्दै सहिद परिवार, वेपत्ता, अपांग र युद्धपीडितप्रति अपेक्षा अनुसार न्याय दिन नसकेकोमा आत्मस्वीकृति जनाए । उनले व्यवहारिक कमजोरी सुधारेर पार्टीलाई जनतासँग पुनः जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधान दिवसकै दिन उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायको रक्षा गर्न सबै देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गरे । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो, इतिहासको चिहानबाट फर्केर समाधान सम्भव छैन,’ उनले भने ।

दाहालले वर्तमान अन्तरिम सरकारलाई असफल पार्ने षड्यन्त्र भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरे । उनका अनुसार चुनाव रोक्ने प्रयास हुन सक्ने भएकाले सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध हुनु आवश्यक छ ।

संविधान दिवसको अवसरमा उनले नेपाली जनतालाई शुभकामना दिँदै जनताका अधिकार, गणतन्त्र र स्वाधीनताको रक्षाका लागि निरन्तर संघर्ष गर्ने सङ्कल्प दोहोर्याए ।