जेनजीको अनलाइन भोटिङमा पुछारमा परेपछि महावीर पुनले भने ‘युवालक्षित काम गरेकै रहेनछु अब गर्छु’

350
Shares

काठमाडौं । जेनजीको अनलाइन भोटिङमा कम नम्बर पाएपछि महावीर पुनले युवालक्षित काम गर्ने बताएका छनु । उनले भनेका छन्, ‘मैले त युवालक्षित काम गरेकै रहेनछु, त्यसैले कम भोट आएको रहेछ । यसले आफ्नो युवासँगको बुझाई के रहेछ भन्ने स्पष्ट भएकोले अब युवा भाइवहिनको मन जित्नेगरी काम गर्ने प्रतिकृया दिएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले सामाजिक सञ्जालमार्फत भने ‘कसलाई प्रधानमन्त्री चुन्ने भनेर भाइबहिनीहरुले चुनाव गरेका रहेछन् । यो कुरा मैले अहिले (सोमबार विहान) यात्रा गर्दै गर्दा देखेँ। अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु। म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रष्ट संग थाहा पाएँ।’

पुनले भनेका छन्, ‘सबै भन्दा कम भोट पाउनुको मतलब मैले युवा भाइबहिनीहरुको मन जित्ने काम पटक्कै गरेको रहेनछु। त्यसैले अब वीरगञ्ज कृषि औजार कारखाना वीरगञ्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंमा र आईसिटी इनोभेसन ल्याव पोखरामा अझै कसिएर काम गर्नेछु ।’

उनले थपेका छन्, भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाइबहिनीहरूको अलि धेरै भोट पाउन सकुँ । अनि त्यसको लागि मेरो आत्मकथाको पुस्तक पनि झन धेरै बेच्नु पर्ने भयो ।’

जेनजीहरुले अनलाइनबाट गरेको प्रधानमन्त्रीको भोटिङमा सुशीला कार्कीले ५० प्रतिशत, र्यान्डम नेपालीले २६ प्रतिशत, सागर ढकालले १४ प्रतिशत, हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाएका थिए । अनलाइन भोटिङबाट सबैभन्दा बढी मत पाउने कार्कीलाई नै जेनजीले प्रधानमन्त्रीको लागि गरेको सिफारिस अनुसार नै उनी शुक्रबार प्रधानमन्त्री बनेकी छन् ।