
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउने सुरुआत गरेको छ ।
विभागले अनलाइनबाट प्रदान गर्ने रणनीति अन्तर्गत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा उपलब्ध गराउन सुरु गरेको हो । खाद्य उद्योगी व्यवसायीले साइटबाट यस्ता सेवा उपयोग गर्न सक्नेछन।
यो प्रणालीलाई विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टम नामाकरण गरेको छ । विभागले यो सिस्टमसम्बन्धी अभिमुखिकरण तथा तालिन खाद्य उद्योगीहरुलाई उपलब्ध गराएको छ ।
यो तालिम विभागमा महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगीहरु सहभागी भएका थिए । कार्यक्रममा उद्योगी व्यवसायीहरुको विभिन्न छाता संगठनका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा अनलाइनमार्फत कसरी सेवा लिने बिषयमा आवश्यक जानकारी उद्योगीहरुलाई उपलब्ध गराइएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुनेछ।
विभागका महानिर्देशक कर्णले यो प्रणालीको प्रयोगवाट अनुमतीपत्र जारी तथा नविकरणका सम्पूर्ण चरणहरू अब अनलाइनबाटै पूरा गर्न सकिने र आवेदकले आवश्यक विवरण र कागजातहरू प्रणालीमै अपलोड गर्न सक्ने भएकाले पेपरलेस र फेसलेस सेवा अघि बढ्ने, सेवाग्राहीले आफ्नो आवेदनको स्थिति अनलाइनबाटै हेर्न मिलने, ईमेलमार्फत सूचना आदान प्रदान गर्न सकिने लगायतका सुविधा उपलब्ध गराइएको जानकारी दिए ।
यो अनलाइन सेवा हाल काठमाडौं तथा हेटौंडास्थित कार्यालयमार्फत उपलब्ध भएपनि निकट समयमै सम्पूर्ण कार्यालयबाट उपलब्ध हुने उनले जानकारी दिए ।








प्रतिक्रिया