नेपालको अधिकाँश खानेतेल र घीउ गुणस्तरहिन

504
Shares

काठमाडौं । नेपालको अधिकाँश खानेतेल र घीउ गुणस्तरहिन अवस्थामा रहेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दायर गरेको मुद्दा विवरणले यो तथ्यलाई पुष्टि गरेको छ । विभागले गत् आर्थिक वर्ष २०८१÷ ८२ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित न्यून गुणस्तर तथा दूषित उत्पादन गरेको र बिक्री बितरण गरेको अभियोगमा १८६ वटा मुद्दा दायर गरेको थियो ।

यसमध्ये सबैभन्दा बढी तेल तथा घीउजन्यसम्बन्धी मुद्दा रहेको पाइएको छ । खानेतेल र घीउसम्बन्धी ४८ वटा मुद्दा देशभरका विभिन्न अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।

यसपछि खाद्यान्न र दलहनसम्बन्धी ४६ वटा, प्रशोधित पानीसम्बन्धी २३ वटा, १० वटा कन्फेक्सनरी, १० वटा दूध तथा दूग्ध पदार्थ, ६ वटा चिया तथा कफी, ५ मसला, ४ वटा फल तथा सागपात, ७ वटा दाना पदार्थ र १८ वटा अन्य खाद्य पदार्थसम्बन्धी मुद्दा दायर भएका छन् ।

उक्त १८६ मुद्दामध्ये ११२ वटा मुद्दा न्यून गुणस्तरका खाद्य पदार्थ, २९ वटा मुद्दा दुषितका खाद्य पदार्थ र २६ मुद्दा ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि र १९ वटा मुद्दा लेबल सम्बन्धी रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताएका छन् ।

विभागले गत् आर्थिक वर्षमा ३ हजार ३९४ नमूनाहरु सङ्कलन गरेको थियो । संकलित नमूनामध्ये २ हजार ७३९ वटा नमूनाको विश्लेषण गरिएको थियो । विश्लेषण गरिएकामध्ये खाद्यान्न र दलहनका ८९५ वटा, तेल तथा घ्यूजन्य पदार्थका ३५१ वटा, फल तथा सागपातजन्य ३४० वटा, मसलाका ३२० वटा, प्रशोधित पिउने पानीका १६७ वटा, गुलियो पदार्थ तथा कन्फेक्सनरीका १५५ वटा, चिया र कफीका १५३ वटा, दूध तथा दुग्ध पदार्थका १०८ वटा, नुनका ५९ वटा, मासु तथा मासुजन्य पदार्थका १० वटा, दाना पदार्थका १८ वटा र अन्य खाद्य पदार्थका १६३ वटा नमूनाहरु रहेका थिए ।

विश्लेषण परीक्षण प्रतिवेदन अनुसार खाद्यान्न-दलहनका ६२ वटा, तेल तथा घ्यूजन्य पदार्थका ३८ वटा, प्रशोधित पिउने पानीका १७ वटा, मसलाका १६ वटा, दुध तथा दुग्ध पदार्थका १३ वटा, फल तथा सागपात जन्य पदार्थका ११ वटा, चिया-कफीका ४ वटा, गुलियो पदार्थ-कन्फेक्सनरीका ४ वटा, मासु तथा मासुजन्य पदार्थका १ वटा र अन्य खाद्य पदार्थका ७ गरी जम्मा १७३ वटा नमूनाहरु प्रतिकूल पाईएको थियो ।