
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय वस्तुको आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाएलगत्तै उनका व्यापार सल्लाहकार पिटर नभारोले अनौठो दाबी गरेका छन् ।
रुस–युक्रेन युद्धलाई उनले मोदीको युद्ध संज्ञा दिए । भारतले रुससँग निरन्तर तेल किनिरहेकाले रुसले युक्रेनमा सैन्य आक्रामकता देखाउन पाइरहेको नभारोको दाबी छ ।
भारतले रुससँग तेल किन्न छोडेमा भारतविरुद्ध लगाइएको आयातकरमा २५ प्रतिशत छुट दिइने उनको भनाइ छ ।
ब्लूमबर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा नभारोले युक्रेनमा शान्तिबहालीका लागि नयाँ दिल्ली जिम्मेवार रहेकाले यसलाई मोदीको युद्ध भनेको गरे ।
नयाँ दिल्लीले छुट मूल्यमा रुसबाट कच्चा तेल किनेर रुसको युद्ध अर्थतन्त्रलाई टेवा पुर्याएको नभारोको दाबी छ । त्यसले गर्दा अमेरिकाले किएभमा हातहतियार तथा आर्थिक सहयोगका लागि खर्च गरिरहनुपरेको उनले बताए ।
‘भारतले चालिरहेको कदमका कारण अमेरिकामा सबै घाटा बेहोर्नुपरेको छ । उपभोक्ता र व्यापारीहरूका साथै कामदारहरूले पनि नोक्सानी सहनुपरेको छ । भारतले चर्को भन्सार लगाएकाले हामीले रोजगारी गुमाउनुपरेको छ, कारखाना बन्द गर्नुपरेको छ । मोदीको युद्धका कारण अमेरिकी करदाताहरूले क्षति बेहोर्नुपरेको छ,’ नभारोले बताए ।
अमेरिकाले भारतीय वस्तुमाथि लगाएको ५० प्रतिशत भन्सारले ५५ प्रतिशतभन्दा बढी सामानलाई असर गर्नेछ । अमेरिका नै भारतीय सामानको सबभन्दा ठूलो विदेशी बजार हो । तत्कालका लागि विद्युतीय सामग्री र औषधिहरूमा छुट दिइएको भए पनि लत्ताकपडा र गरगहना जस्ता श्रमिकको योगदान रहने उद्योगमा अमेरिकी आयातकरले असर पार्नेछ ।
भारतीयहरूले घमण्ड देखाइरहेको भनी नभारोले आलोचना गरे । ‘भारतीयहरूले घमण्ड देखाएको हेर्दा मलाई चिन्ता लागिरहेको छ । उनीहरू हामी चर्को कर लगाउँदैनौं भन्छन् । यो हाम्रो सार्वभौमसत्ताको कुरा हो भन्छौं । हामी जोसँग मन लाग्छ तेल किन्छौं भन्छन् । भारत, तिमी संसारको सबभन्दा ठूलो लोकतन्त्र हौ । लोकतान्त्रिक व्यवहार देखाऊ,’ नभारोले भने ।
भारतीय र अमेरिकी प्रतिनिधिहरूबीच महिनौंदेखि कुराकानी भइरहेको भए पनि अमेरिकाले भारतमाथि दण्डात्मक भन्सार शुल्क लगाएको छ । ट्रम्पको टोलीसँग भन्सार शुल्कका विषयमा सुरुमै वार्ता थालेको भए पनि भारतले सम्झौता गर्न सकेको छैन ।
भारतले चाहिँ तेलको मूल्यलाई कम राखेर स्वदेशी बजारलाई स्थिर बनाउनका लागि रुसी तेल किन्नुपरेको तर्क गरेको छ । अमेरिकाले अतिरिक्त भन्सार शुल्क लगाउनु अन्यायपूर्ण भएको भारतको भनाइ छ ।










प्रतिक्रिया