कश्मीरमा भएको आरीघोप्टे वर्षाका कारण ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

315
Shares

एजेन्सी । भारतको जम्मु कश्मीरस्थित किश्तवरको चशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षापछि आएको बाढीमा परेर ६० जनाको मृत्यु भएको छ ।

सयजना भन्दा बढी घाइते भएका छन् ।

अझै पनि कैयौं मानिस हराइरहेकाले मृत्यु संख्या बढ्न सक्ने आशंका अधिकारीहरूले गरेका छन् ।

मर्नेमध्ये अधिकांश मचैल माता मन्दिरतर्फ पैदल गइरहेका तीर्थयात्रीहरू थिए । उनीहरू चशोती गाउँमा लंगर भोज खानका लागि भेला भएको बेलामा आरीघोप्टे वर्षा भएको थियो ।

चशोती गाडी पुग्ने अन्तिम गाउँ हो । त्यहाँबाट मचैल माता मन्दिरसम्म साढे ८ किलोमिटर हिँडेर मात्र पुगिन्छ । मन्दिर ९ हजार ५ सय फीटको उचाइमा छ ।

अहिलेसम्म १६० भन्दा बढी मानिसको उद्धार गरिएको छ । उनीहरूमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले पनि मुसलधारे पानी परिरहेको र लेदो जमेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ आएको छ ।

यात्राको सुरक्षाका लागि खटिएका एक अधिकृतको शव बरामद गरिएको छ भने अन्य तीनजना हराइरहेका छन् ।