
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि तयारी थालेका छन् ।
ट्रम्पका विशेषदूत स्टिभ विट्कोफसँग पुटिनले बुधवार तीन घन्टा कुराकानी गरेपछि दुई राष्ट्रप्रमुखबीचको वार्ताका लागि तयारी सुरु भएको हो ।
सम्भवतः संयुक्त अरब अमिरात (यूएई) मा उक्त वार्ता हुनेछ ।
अमेरिकीहरूसँग यस वार्ताको एजेन्डा र वार्तास्थलका विषयमा कुराकानी चलिरहेको पुटिनका सहयोगी युरी उशाकोभले बताए ।
वार्ता सकेसम्म अर्को हप्ता नै हुने बताइएको छ । अमेरिकाले रुससँग वार्ता गर्नका लागि हतारो देखाएको कुरालाई विचार गर्दा युक्रेनी सेना पराजयको उन्मुख रहेको प्रतीत हुन्छ ।
पुटिनले ट्रम्पलाई निकै ठूलो प्रस्ताव गर्न लागेको विश्लेषकहरूले अनुमान गरेका छन् । युक्रेनका साथै अन्य विषयमा पनि पुटिनले ट्रम्पलाई फाइदा हुने कुरा गर्नेछन् ।
आणविक हतियारको संख्या सीमित गर्नेदेखि लिएर विश्व राजनीतिमा असर गर्ने अन्य विषयमा अमेरिका र रुसले सम्झौता गर्ने सम्भावना छ । तर, ट्रम्पले सबै कुरा आर्थिक पाटोबाट हेर्ने गरेका छन् ।
ट्रम्पलाई खुशी बनाउने गरी पुटिनले अमेरिकी कम्पनीहरूलाई रुसमा लगानीको अवसर दिने सम्भावना छ । रुसमाथि लगाइएका कतिपय प्रतिबन्ध अमेरिकाले हटाउन सक्छ र दुई देशबीच हवाईयात्रा सुचारु गरिन सक्छ । यसले दुवै पक्षलाई फाइदा दिलाउनेछ ।
तर, युक्रेन समस्याको समाधान नहुन्जेल यसमा अघि बढ्न सकिन्न ।
रुसले युक्रेनका विषयमा आफ्नो अडान पहिले नै स्पष्ट पारिसकेको छ । सामान्य युद्धविराम रुसका लागि पर्याप्त हुँदैन । रुसी संविधानमा दोनेत्स्क, लुगान्स्क, खर्सन र जापोरिजालाई रुसको सार्वभौम भूभाग भनिएको छ र तीमाथि पूर्ण नियन्त्रण गर्ने रुसको चाहना हो । त्यसका साथै युक्रेन नेटोमा जोडिन नहुने र पश्चिमले युक्रेनलाई उपलब्ध गराइरहेको सैन्य सहयोग रोक्नुपर्ने पनि रुसको माग हो ।
ट्रम्प पनि यी कुरामा लचिलो हुन सक्छन् । अधिकांश युक्रेनीहरू युद्ध अन्त्य भएको हेर्न चाहन्छन् ।
ग्यालप संस्थाले हालै सार्वजनिक गरेको सर्वेक्षणमा ६९ प्रतिशत युक्रेनीहरूले सकेसम्म चाँडो यो युद्ध अन्त्य भएको देख्न चाहेको बताएका छन् । जम्मा २४ प्रतिशतले विजयी नहुन्जेल युक्रेन युद्ध लडिरहनुपर्ने बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की पनि युद्ध रोक्ने पक्षमा देखिन्छन् । उनले द्विपक्षीय र त्रिपक्षीय वार्ताका विषयमा कुरा चलिरहेको जानकारी दिएका छन् । युक्रेन कुनै पनि वार्तासँग नडराउने र रुसले पनि यस्तै किसिमको साहस देखाउनुपर्ने जेलेन्स्कीको भनाइ छ ।
तर, अमेरिका, युरोप र युक्रेनमा रहेका युद्धसमर्थकहरूले शान्तिको सम्भावनालाई तुहाउन सबै प्रयास गर्न सक्ने विश्लेषकहरू बताउँछन् ।
ट्रम्प र पुटिनको भेटवार्तालाई सफल बनाउनका लागि सानातिना कदमहरू चालिन सक्ने सम्भावना छ । लामो दूरीको ड्रोन आक्रमण रोक्नका लागि सहमति बनेछ भने पनि सौहार्द्रपूर्ण वातावरण बन्न मद्दत पुग्छ ।
तर, पुटिन र ट्रम्पबीचको वार्ताको एजेन्डा तय गर्न गाह्रो छ । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र रुसका विदेशमन्त्री सर्गे लाभरोभले वार्ताका विवरणहरूका विषयमा सहमति बनाउन मेहनत गर्नुपर्नेछ । त्यसमा हतारो गरिएमा वार्ता परिणामविहीन हुनेछ ।
वार्ताका लागि लचिलोपन देखाएर ट्रम्पले पुटिनलाई युद्ध रोक्नका लागि फकाउने सम्भावना छ । तर, रुसले निर्धारण गरेको लक्ष्य पूरा नहुन्जेल पुटिनले युद्ध रोक्न आदेश दिने छैनन् । त्यस अवस्थामा ट्रम्पले शिखर सम्मेलनमै रुसलाई दोषी ठर गरेर रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गर्न सक्छन् । युक्रेनलाई दिइरहेको सहयोगलाई पनि अमेरिकाले जारी राख्न सक्छ ।
त्यस्तो अवस्था आएछ भने पनि रुसले युद्ध रोक्ने छैन । युद्ध अझै एक वर्षसम्म लम्बिन सक्छ । युक्रेनको पूर्ण पराजयपछि मात्र युद्ध रोकिन्छ ।








प्रतिक्रिया