बजाजको ईभी स्कुटर चेतक सार्वजनिक, मूल्य ३ लाख २५ हजार

154
Shares

काठमाडौं । नेपाली बजारमा बजाजको विद्युतीय स्कुटर ‘चेतक’ सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकाबीच बजाजको बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक ३५०१ भेरियन्टको ईभी स्कुटर सार्वजनिक गरेको हो ।

यो स्कुटरले एक पटक चार्जमा १५३ किलोमिटर रेन्ज दिन्छ । यसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ । ३.५ किलोवाटआवरको ब्याट्री क्षमता भएको चेतक ३५०१ को मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपियाँ तोकेको छ ।

साथै, यो स्कुटरमा ३५ लिटरको बुट स्पेश दिएको छ । चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू दिएको छ ।

आकर्षक फिचरका साथ उपलब्ध रहेको चेतकलाई ८० प्रतिशत चार्ज गर्न मात्र ३ घण्टा लाग्छ । आईपी ६७ प्रमाणित मेटल बडीसहित तयार पारिएको चेतक ३५०१ विभिन्न मौसमको चुनौती सामना गर्न सक्षम प्रदान गर्छ । स्कुटरमा ३५ लिटरको अन्डर-सिट स्टोरेज हुनुका साथै स्मार्ट टीएफटी टचस्क्रिन कन्ट्रोल सुविधा पनि दिइएको छ ।

नेभिगेसन, म्युजिक नियन्त्रण, कागजात भण्डारण र कल ह्यान्डलिङ सहितको सुविधा रहेको यस स्कुटर विभिन्न रङका विकल्पहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ । उक्त स्कुटर सार्वजनिक गर्ने क्रममा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चेतकले दुई पाङ्ग्रे ईभीको बजारमा नयाँ आयाम थप्ने अपेक्षा राखे ।

‘यो मोडल विशेषगरी आजका युवापुस्ताका लागि बनाइएको हो, प्रविधिमा रुचि राख्ने, स्टाइलप्रेमी र वातावरणप्रेमी प्रयोगकर्ताहरूका लागि हामी नेपालमा विद्युतीय सवारीको बिक्री गर्न पाउँदा उत्साहित छौं,’ उनले भने । चेतक ३५०१ ले स्मार्ट प्रविधि, टिकाउ निर्माणकला र वातावरणीय जिम्मेवारीको उत्कृष्ट समिश्रण प्रदान गर्ने गोल्छाले बताए ।

उनका अनुसार चेतकले यात्रालाई सुरक्षित बनाउँदै प्रयोगकर्ताको अपेक्षा अनुसारको सवारीलाई पनि यसले पुरा गर्ने छ । चेतक यही साउन २१ गतेदेखि हुने नाइमा एक्स्पोमा पनि देख्न पाइने कम्पनीले बताएको छ । बजाज चेतक ३५०१ ले एक प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा आफ्नो दाबी अब प्रस्तुत गर्नेछ ।