
काठमाडौं । नेपालका लागि हेनरी भोल्ट्स इलेक्ट्रिक सीटी कारको आधिकारीक वितरक एसक्युब इन्टरप्राइजेजले अपग्रेटेड भर्नसनमा मोडल सी–प्रो सार्वजनिक गर्दैछ ।
नेपाली बजारमा करिब चार वर्षअघिदेखि सीटी कार बिक्री वितरण गर्दै आएको कम्पनीले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा मोडल सी–प्रो लन्च गर्नेछ ।
नेपाली बजारमा सीटी कारका लागि हेनरी होल्ट्स लोकप्रिय ब्रान्ड हो । कम्पनीले हालसम्म २०० किलोमिटर रेन्ज दिने र फास्ट चार्जिङको फिचर नभएको गाडी बिक्री गर्दै आएको थियो । तर, धेरै ग्राहकले फास्ट चार्जिङ प्रणाली र ३०० किलोमिटरसम्मको रेन्ज दिने गाडी खोजी गर्न थाले । यअि विषयलाई मध्येनजर गर्दै कम्पनीले मोडल सी–प्रो गाडीको बिक्री सुरु गर्न लागेको हो ।
‘पहिला पनि हामीसँग धेरै ग्राहकले फास्ट चार्जिङ र ३०० किलोमिटर रेन्ज दिने खोजी गर्दै आएका थिए । अब आउने गाडीको मोटर एक किलोवाट बढेको छ भने फास्ट चार्जिङ प्रणाली पनि थपिएको छ,’ एसक्युब इन्टरप्राइजेजका म्यानेजिङ डिरेक्टर शम सापकोटाले भने, ‘यसर्थ, नाइमा एक्स्पोमा यो गाडीमा मानिसको राम्रै आकर्षण पाइने अनुमान गरेका छौं ।’
नाइमा मोबिलिटीमा पर्याप्त स्टल स्पेस भएकाले फास्ट चार्जिङ सर्पोट गर्ने र हाल बिक्री गरिरहेका गाडी पनि प्रदर्शनमा राख्ने योजनामा रहेको उनले बताए । नेपाली बजारमा यो गाडी करिब ३०० बढी युनिट बिक्री भइसकेको छ । गाडीको शोरुम काठमाडौंका साथै, इंटहरी र बिराटनगरमा पनि रहेका छन् । सबैबाट फास्ट चार्जिङको सुविधा खोजेका कारण यो गाडी ल्याइएको उनले बताए ।

उनका अनुसार आउँदै गरेको नयाँ गाडी केही मात्रामा पहिलादेखि खोजी गरिएको थियो भने बुकिङसमेत भइसकेको छ । यसकारण पनि यो गाडीमा मानिस बढी आकर्षित हुने आँकलन वितरकको छ । सापकोटाका अनुसार हाल पाँच वटा गाडी आउँदै छन् भने मूल्यमा पनि ठुलो अन्तर छैन ।
हाल बिक्री भइरहेका गाडीको मूल्य १९ लाख ९५ हजार रुपैयाँ छ भने अब आउनेको मूल्य २२ लाख ९५ हजार रुपैयाँ हुनेछ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने एक्स्पोमा कम मूल्य र आकर्षक गाडी भएकाले यसतर्फ धेरैको ध्यान आकर्षित हुने अनुमान गर्न सकिन्छ ।
‘नाइमा एक्स्पो बृहत् हुँदैछ । अटो शोमा अहिलेसम्म नभएकै कतिपय कुराहरु त्यहाँ पाउन सकिन्छ । ५० ब्रान्डको सहभागिता हुँदा ३५ ब्रान्ड नयाँ लन्च हुनेछन्,’ सापकाटाले भने, ‘व्यवस्थापन पनि पहिला भन्दा निकै राम्रो छ । पार्किङ सुविधा पनि दिइएको छ ।’ यस्तो भव्य एक्स्पोमा राखिने गाडीमा पनि राम्रै प्रतिक्रिया आउने अनुमान उनको छ ।
‘२०० किमि रेन्जले दिनेले नै नेपालमा पुग्छ । तर, अलिकति बढी पैसा हालेर ३०० किलोमिटर रेन्ज दिने र फास्ट चार्जिङ प्रणाली खोज्ने मानिस पनि उतिकै छ,’ सापकोटाले भने, ‘यसर्थ, यो पटक राम्रो हुन्छ कि भन्ने लाग्छ ।सय वटा बुकिङ गर्न सकियो भने र २० वटा बिक्री भयो भने पनि राम्रै हुन्छ ।’ उनले बजारमा पहिलादेखि उपस्थित जनाउँदै आएकाले पनि मानिसले विश्वास गर्ने गरेको बताए ।

मोडल सी–प्रो मोटर पावर ३४ किलोवाटबाट बढाएर ३५ किलोवाट पु¥याइएको भने टर्क १०२ एनएमबाट ११० एनएममा वृद्धि गरिएको उनले जानकारी दिए । सापकोटाका अनुसार मोडेल एचमा केवल ३.३ किलोवाटको एसी चार्जिङ मात्र उपलब्ध थियो । तर, मोडेल सी प्रो मा ३० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ४० मिनेट भन्दा कममा ८० प्रतिशत चार्ज गर्नसक्छ ।
मोडल सी–प्रोमा सिंगल एयरब्याग, एबीएस, ईबी डी, हिल होल्ड असिस्ट, आईएसओ फिक्स, पछाडि पार्किङ रडार र रिभर्स इमेज क्यामेरा, एलईडी डीआरएलएस र ह्यालोजन हेडल्याम्पहरू, टु–टोन इन्टेरियर, स्पोर्ट स्टेरिङ ह्विल, इलेक्ट्रिक पावर विन्डोज तथा ब्लुटुथ प्रणाली छन्। यसले नेपाली सडकमा सहज र राम्रो पफर्मेन्स दिने सापकोटाले जानकारी दिए ।








प्रतिक्रिया