नाइमा अटो एक्स्पोः ३५ नयाँ गाडी लन्च हुने, उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

224
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमाले उक्त जानकारी दिएको हो ।

सोमबार आयोजित सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको जानकारी दिए । त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार (विशेषतः जलनिकासी, अपांगमैत्री पूर्वाधारजस्ता व्यवस्था) उल्लेखनीय रहेको पनि उनले बताए ।

उनका अनुसार यसपटकको एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे, र ५ वटा व्यावसायिक सवारीसाधन सार्वजनिक हुने जानकारी गराइयो ।

त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू—एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेका प्रदर्शनीमा टिकेटिङ पार्टनरको रूपमा खल्ती बाइ आईएमई, बेभरेज पार्टनरमा माउन्टेन ड्यू, ब्रुइङ पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्भेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्क, हस्पिटालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरूलाई लक्षित गरी प्रायोजक कम्पनीहरूले विशेष सुविधाहरूको व्यवस्था गरेका छन् । राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा साउन २१ सम्म ‘नाइमा अटो एक्स्पो’ सम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने सहभागीमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने साउन २१ देखि २५ सम्म अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई प्रत्येकलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमको समापन नाइमाका अध्यक्ष रितु सिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै एक्स्पोमा नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । साथै प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल छलफल हुने जानकारी पनि दिइन् ।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने छन् भने अन्य दिनका सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशनजस्ता संस्थाहरूका विज्ञहरूको उपस्थिति रहनेछ ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाइ आईएमईमार्फत उपलब्ध छ । साथै, विक्रि भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रसँग सम्बन्धित छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न खर्च गरिनेछ ।