
एजेन्सी । भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा नक्कली दूतावास सञ्चालन गर्ने व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
हर्षवर्धन जैन नाम गरेका ती व्यक्तिले हुँदै नभएको देश वेस्ट आर्कटिकाको राजदूत भएको भन्दै वाणिज्यदूतावास चलाइरहेका थिए ।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले मंगलवार उनलाई पक्राउ गरेको हो ।
जैनले विदेशमा जागिर लगाइदिने झूटो आश्वासन दिएर मानिसहरूसँग पैसा उठाएको आरोप छ ।
उनले फर्जी कम्पनीमार्फत हवाला सञ्जाल चलाएको पनि आशंका गरिएको छ । प्रधानमन्त्री, राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूसँगको झूटो तस्वीर देखाएर ती व्यक्तिले मानिसलाई भ्रमित बनाएको पनि बताइएको छ ।
भाडामा घर लिएर झूटो दूतावास चलाउने जैनले आफूलाई हुँदै नभएका देशहरू साबोर्गा, पुलभिया र लोदोनियाको वाणिज्यदूत वा राजदूत भएको बताउँदै आएका थिए । उनी झूटो कूटनीतिक नम्बर प्लेट भएका गाडीहरूमा हिँड्ने गरेका थिए ।
विवादास्पद धर्मगुरु चन्द्रस्वामी र अन्तर्राष्ट्रिय हतियार व्यापारी अदनान खाशोग्जीसँग पनि जैनको सम्बन्ध रहेको बताइएको छ । सन् २०११ मा जैनमाथि अवैध स्याटलाइट फोन बोकेको आरोप थियो ।
मंगलवार जैन पक्राउ परेपछि झूटो कूटनीतिक नम्बर प्लेट भएका चारवटा गाडी, १२ वटा किर्ते गरिएका कूटनीतिक पासपोर्ट, विदेश मन्त्रालयको छाप भएका झूटा कागजात, विभिन्न मुलुक र कम्पनीका ३४ वटा रबर स्ट्याम्प र दुईवटा झूटा प्रेस कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
सुरक्षाकर्मीहरूले उनीबाट ४४.७ लाख भारु नगद, विदेशी मुद्रा, विभिन्न कम्पनीका कागजात र १८ वटा झूटा कूटनीतिक नम्बर प्लेटहरू पनि बरामद गरेका छन् ।
जैनका विरुद्ध कविनगर प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको छ । कारवाही अघि बढिरहेको बताइएको छ ।








प्रतिक्रिया