पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने एमालेको निर्णय

161
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको छ ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको धारा ८ र ९ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र सक्रिय राजनीतिमा आउन नदिने निर्णय मंगलबार साँझ सुनाएका छन् ।

ओलीको यो निर्णयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् ।

पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए ।

ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीका साथै कर्ण थापाले फरक मत राखेका थिए ।

उनीहरूले पार्टीको यो निर्णयमा असहमति राखेको प्रचार विभाग प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले बैठकमा उठेर असहमति राख्नुभएको हो ।’

मंगलबार नै पूर्व राष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर आफु अगाडि बढिसकेको र अब फर्किन नसक्ने बताएकी थिइन ।

पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् ।

आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताएकी थिइन् ।

भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।

भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।

भण्डारीले भनिन्,’दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।’