
एजेन्सी । जापानमा दक्षिणपन्थी लोकरिँझ्याइवादी पार्टीको उदय भएको छ ।
पाँच वर्षअघि स्थापित सानसेइतो पार्टीले ‘पहिले जापान’ भन्ने नारा दिएको छ । आइतवार सम्पन्न निर्वाचनमा उक्त दलले आफ्नो सीट संख्या बढाएर १५ पुर्याएको छ ।
माथिल्लो सदनको त्यस निर्वाचनमा बहालवाला प्रधानमन्त्री शिगेरु इशिबाको गठबन्धनले भने बहुमत गुमाएको छ ।
सानसेइतोले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मेक अमेरिका ग्रेट अगेन, जर्मनीको अल्टरनेटिभ फर जर्मनी र बेलायतकोे रिफर्म पार्टी लगायतका दक्षिणपन्थी दलहरूको सिको गर्न खोजेको छ ।
त्यसक्रममा सानसेइतोले आप्रवास र विदेशी पुँजीमा थप कठोर नियम र सीमाहरू लगाउने, भूमण्डलीकरण र आधुनिक लैंगिक नीतिहरूको विरोध गर्ने तथा कार्बन उत्सर्जन, खोप र विषादीरहित कृषिको विपक्षमा उभिने विचारधारा अपनाएको छ ।
यूट्युबमा खोलिएको सानसेइतो पार्टीले जनतामा शक्ति फर्काउने लक्ष्य लिएको पार्टीप्रमुख सोहेई कामियाले बताएका छन् । उनी पूर्व शिक्षक तथा सुपरमार्केट व्यवस्थापक हुन् ।
हुन त विभिन्न सर्वेक्षणहरूमा आप्रवासको मुद्दा मतदाताहरूको चिन्ताको विषय नरहेको देखाएका छन् । मतदाताहरू मूल्यवृद्धि र अर्थतन्त्रको दिशाका विषयमा चिन्तित रहेको बताइन्छ ।
तर, सानसेइतोले जापानमा आइरहेका आप्रवासीले गर्दा अपराधमा वृद्धि भइरहेको, घरजग्गाको भाउ बढिरहेको र खतरनाक तरिकाले गाडी हाँक्ने काम भइरहेको आरोप लगाएको छ ।
‘उनीहरू पर्यटकका रूपमा भ्रमण गरे त ठीकै छ तर सस्तो श्रमको नाममा विदेशीहरूलाई हुलका हुल गरेर ल्याउँदा जापानीहरूको तलब बढ्दैन,’ कामियाले चुनावी अभियानमा भनेका छन् ।
आफूहरूले विदेशीलाई भगाउनुपर्ने कहिल्यै नभनेको पनि उनले बताए ।
अन्तलाइन प्ल्याटफर्महरूमा सानसेइतो समर्थकहरूले झूटो सूचना प्रवाह गरिरहेको बताइएको छ । विदेशीहरूले वर्षको ३ अर्ब डलर बराबरको स्वास्थ्य खर्चको भुक्तानी नगरेको भनी दाबी गरिएको छ । त्यस्तै विगत पाँच वर्षमा कल्याणकारी योजनाको लाभ उठाउने चिनियाँहरूको संख्या दोब्बर बढेको पनि भनिएको छ । ती दाबीहरूलाई तथ्य जाँच गर्ने र सरकारले समेत खारेज गरेका छन् ।
टोक्योको शिनागावा स्टेशनमा आयोजित चुनावी सभामा सानसेइतोका कार्यकर्ताहरूले ‘जापानलाई नष्ट नगर’ भन्ने नारा लेखिएका पर्चा बाँडेका थिए ।
एकजना मतदाताले आफ्नो दबेको आवाजलाई सानसेइतो पार्टीले मुखरित गरेको बताइन् ।
विदेशीहरूलाई विश्वविद्यालयमा अध्ययन गर्नका लागि सरकारले छात्रवृत्ति दिने गरेको तर जापानीहरूले विश्वविद्यालयमा पढ्दा विशाल ऋण काढ्न परेको ती महिलाले गुनासो गरिन् ।
सानसेइतोको उदय र सफलताले जापान सरकारलाई नयाँ आप्रवास नीति घोषणा गर्न प्रेरित गरेको छ । प्रधानमन्त्री इशिबाको पार्टी एलडीपीले देशमा अवैध विदेशीहरूको संख्या शून्यमा झार्ने लक्ष्य हासिल गरेको दाबी गरेका छन् । सरकारले आप्रवास र आवासको व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने पनि उनले बताए ।
गत साता आठवटा गैरसरकारी संस्थाले संयुक्त विज्ञप्ति जारी गरेर जापानमा विदेशीहरूप्रतिको घृणा बढिरहेको भनी चिन्ता व्यक्त गरेका छन् । जापानमा विदेशीहरूलाई प्राथमिकता दिइएको भन्ने कुरा आधारहीन भएको उनीहरूको दाबी छ ।
चुकुबा विश्वविद्यालयमा राजनीति र समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोतोले जापानमा लोकरिझ्याँवादी पार्टीहरू नटिक्ने बताएका छन् । केही मानिसको असन्तुष्टिलाई समर्थनको आधार बनाउँदा त्यो लामो समयसम्म जान नसक्ने उनको भनाइ छ ।








प्रतिक्रिया