१५ दिनभित्र ६५ अर्ब रुपैयाँ कर तिर्न टेलियालाई कर कार्यालयको सूचना



काठमाडौैं । स्वीडेनको टेलिकम सेवा प्रदायक कम्पनी टेलियालाई नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर १५ दिनभित्र तिर्न ठूला करदाता कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

ठूला करदाता कार्यालयले टेलियाले एनसेलको सेयर बिक्री गर्दा तिनुपर्ने जरिवाना र ब्याज सहित ६५ अर्ब रुपैयाँ तिर्नको लागि सूचना जारी गरेको छ ।

करदाता कार्यालयले जारी गरेको सूचनामा नियम अनुसार कर तिर्न नआएमा कानूनी कारवाही गरिने उल्लेख छ ।

पछिल्लो २ वर्ष एनसेलको स्वामित्व परिवर्तनमा तिनुपर्ने करको विषयमा विवाद चल्दै आएको छ ।

एनसेलको स्वामित्व परिवर्तनमा कर तिर्ने विषयको मुद्दा अदालतमा छ । लाभकर नतिर्दासम्म लाभांश रकम लैजान करदाता कार्यालयले रोक लगाएपनि लाभांश रकम लैजान दिनुपर्ने फैसला सर्बोच्च अदालतले गरेको छ ।

एनसेलमा रहेको सेयर मलेसियन कम्पनी आजियटालाई बिक्री गरेर टेलिया बाहिरिसकेको छ ।

अहिलेसम्म एनसेलले लाभकर वापत २३ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ ।

टेलियाले भने नेपालमा आफ्नो कर दायित्व नरहेको बताउदै आएको छ ।

२ वर्ष अगाडि टेलियाले ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिएको थियो । त्यसपछि एनसेलको स्वामित्व परिवर्तनको कर विवाद चल्दै आएको छ ।


क्लिकमान्डु