
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतको प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने जिकिर गरे ।
पेट्रोलियम पदार्थको सट्टा विद्युतबाट नै धेरै कामहरु गर्न सकिने उनको भनाइ छ ।
सभापति देउवाले विद्युतीय सवारीहरुको प्रयोग बढाउनुपर्ने र विद्युतीय समग्रीहरु पनि बढी उपयोग गर्न जरुरी रहेको र यसले जलवायु परिवर्तनका असर न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ छ ।
‘पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता पनि हो । तसर्थ व्यापार घाटामा मात्र होइन, अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ । त्यसैले पेट्रोल पदार्थको सट्टा विद्युतबाट नै हामीले धेरै कामहरु गर्नसक्छौँ । विद्युतीय सवारीहरु बढाउनु पर्छ । अरु धेरै कुराहरु गर्न सकिन्छ,’ उनले भने ।
सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिंचाई र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वनय, हिमतालहरुको संरक्षणका साथै हिमालको फोहोर व्यवस्थापनमा स्थानीय जनस्तरसम्म पुग्ने अनुकुलका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए ।








प्रतिक्रिया