भारत–पाकिस्तान तनावले आइपीएल स्थगित, एशिया कप र बंगलादेश भ्रमण पनि अन्योलमा

686
Shares

एजेन्सी । भारत–पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यससँगै यस वर्षको एशिया कप र भारतको बंगलादेश भ्रमण पनि अन्योलमा परेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइपीएल सकिन बाँकी खेलहरू सम्पन्न गर्नका लागि सम्भावित नयाँ समयको खाका तयार गरिरहेको बताइएको छ ।

सुरक्षाका कारण खेल स्थगित

बिहीबार धर्मशालामा भएको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणले रद्द गरिएको थियो । २६ जनाको आतंककारीले हत्या गरेपछि त्यसको दोष पाकिस्तानलाई लगाउँदै भारतले मिसाइल आक्रमण गरेको थियो र त्यसको जवाफमा बिहीबार राति पाकिस्तानले भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ ।

रोहित शर्माको समर्थन र टेस्ट क्रिकेटबाट संन्यास

भारतीय क्रिकेटर रोहित शर्माले देशको सैन्य कारबाहीको समर्थन गर्दै सामाजिक सञ्जालमा भारतीय सेनाको प्रशंसा गरेका छन्।

यही दिन उनले टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गर्दै अब एकदिवसीय खेलमै केन्द्रित हुने जनाए । रोहितले ६७ टेस्टमा ४,३०१ रन बनाएका थिए ।

विदेशी खेलाडीहरूले असुरक्षित महसुस गर्न थाले

स्थिति बिग्रिँदै गएपछि विदेशी खेलाडीहरूमा चिन्ता बढ्दै गयो। उनीहरूले बीसीसीआई र भारत सरकारसँग सुरक्षा ग्यारेन्टी मागिरहेका थिए । पञ्जाब किङ्स र दिल्ली क्यापिटल्स धर्मशालाबाट विशेष ट्रेनमार्फत आज (मे ९) बिहानै बाहिरिएका छन् । गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भने आफ्नो आगामी खेल स्थलतर्फ प्रस्थान गरिसकेका थिए।

बीसीसीआईले के भन्यो ?

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले खेलाडीको सुरक्षालाई प्राथमिकता दिएको जनाए । ‘खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिइएको छ। हामीले सबैलाई सुरक्षितरूपमा ल्याउन विशेष ट्रेनको व्यवस्था गरेका छौं । आइपीएलको भविष्यबारे निर्णय परिस्थितिअनुसार गरिनेछ ।’

यसबीच एशिया कप २०२५ पनि रद्द हुने सम्भावना देखिएको समाचारमा जनाइएको छ । भारत–पाकिस्तान तनावले आईपीएल मात्र नभइ तर सम्पूर्ण दक्षिण एसियाली क्रिकेट तालिकामै प्रभाव पार्न थालेको देखिएको समाचारमा जनाइएको छ ।

Skip This