भारत-पाकिस्तान द्वन्द्वको असर पेट्रोल पम्पमा

1.8k
Shares

भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहँदा भारतमा पेट्रोल पम्पहरुमा दबाब देखिएको छ ।

पेट्रोल पम्पहरुमा सवारी चालहरुको बाक्लो उपस्थिति हुन थालेपछि इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर इन्धनको पर्याप्त स्टक रहेको जनाएको छ ।

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई डर र अफवाहमा परेर किनमेल नगर्न आग्रह गरेको छ ।

आईओसीएलको आधिकारिक एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनिएको छ, ‘इन्डियन आयलसँग देशभर पर्याप्त इन्धन स्टक छ र हाम्रो आपूर्ति प्रणाली सामान्य रूपमा सञ्चालनमा छ ।’

सार्वजनिक अपिलमा भनिएको छ, ‘डराएर किनमेल गर्न आवश्यक छैन, हाम्रा सबै आउटलेटहरूमा पेट्रोल, डिजेल र एलपीजी सहज रूपमा उपलब्ध छन् ।’

कम्पनीले नागरिकहरूलाई शान्त रहन र अनावश्यक भीडभाड नगर्न पनि आग्रह गरेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार इन्डियन आयलको यो प्रतिक्रिया सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा भिड लागेको देखिने तस्बिर र भिडियो सार्वजनिक भएपछि आएको हो ।

नेपालले पेट्रोलियम पदार्थहरू पूर्ण रूपमा भारतबाट आयात गर्ने गरेको छ।

नेपाल आयल निगम र भारतको इन्डियन आयल कर्पोरेसनबीच दीर्घकालीन आपूर्ति सम्झौता छ । भारततर्फबाट आपूर्ति अवरुद्ध भएमा वा इन्धन वितरण प्रभावित भएमा त्यसको असर नेपालमा पनि पर्न सक्ने कतिपयको आकलन छ ।