बालमन्दिर जग्गा प्रकरणमा प्रकाशमान सिंहकी दिदीसहित १७ जनाविरूद्ध मुद्दा चलाइने

798
Shares

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को बहुमूल्य जग्गा सस्तोमा लिजमा दिइएको प्रकरणमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी एवं संगठनकी पूर्वअध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध ठगीसम्बन्धी मुद्दा चलाउने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालयले यसअघि जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको ‘मुद्दा नचलाउने’ रायलाई उल्ट्याउँदै अभियोजन अघि बढाउने निर्देशन दिएको हो ।

महान्यायधीवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा ठगीसम्बन्धी अभियोगमा मुद्दा चलाउने निर्णय भई सम्बन्धित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

नेपाल बाल संगठनको कित्ता नम्बर ७६० अन्तर्गत रहेको करिब २९ रोपनी जग्गा न्यून भाडा दरमा निजी विद्यालय र व्यापारी समूहलाई लिजमा दिने निर्णयमा सिंहसहित पूर्वपदाधिकारीहरूको संलग्नता देखिएको छ । विशेष गरी बृहस्पति विद्या सदन र जोशी परिवारको विशाल ग्रुपलाई कौडीको मूल्यमा लामो अवधिको लागि लिजमा दिइएको आरोप छ ।

२०७२ सालमा भएको सम्झौतामा ३८ वर्षको लागि पुनः लिज म्याद थप गरिएको थियो, जुन २०८९ सालमा सकिनुपर्ने सम्झौता पुनः बद्नियतपूर्वक नवीकरण गरिएको भन्दै उजुरी परेको थियो । अनुसन्धानका क्रममा बाल संगठनकै नाममा रहेको जग्गाबाट हाल वार्षिक १ करोड ९ लाख रुपैयाँ भाडा उठाउने भनिएपनि संगठन आर्थिक संकटमा रहेको तथ्य समेत बाहिर आएको छ ।

नेपाल बाल संगठन अहिले चरम आर्थिक अभावमा छ, जसका कारण आश्रित बालबालिकाका लागि आधारभूत आवश्यकता पुर्‍याउन समेत हम्मेहम्मे परेको हालका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताएकी छन् । बालबालिकाका लागि ल्याक्टोजिन जस्ता अत्यावश्यक सामग्री किन्न समेत पैसा नपुग्ने अवस्थाले पूर्व नेतृत्वमा गम्भीर अनियमितता भएको संकेत गर्दछ ।

सीआईबीले केही समयअघि नै अनुसन्धान सुरु गरिसकेको थियो भने हाल अदालतबाट २० जनाविरूद्ध पक्राउ अनुमति लिइसकेको छ । पक्राउ सूचीमा पूर्वपदाधिकारीहरूसँगै व्यापारी घरानाका सदस्य पनि रहेका छन् ।

रिता सिंहले करिब ३० वर्षसम्म संगठनको अध्यक्ष भएर नेतृत्व सम्हालेकी थिइन् । संगठनमा लामो समयसम्म महाधिवेशन नहुनु, निर्णय प्रक्रियामा पारदर्शिता नहुनु र व्यक्तिगत पहुँच प्रयोग गरी संस्थागत हितविपरीत निर्णय गर्नु जस्ता आरोपसमेत उनीमाथि छन् ।