श्रीमतीलाई मार्न दिएका थिए ४ लाख, पैसा लिएकाले किन गरे श्रीमान कै हत्या ?

2.8k
Shares

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाटीस्थित एक घरको भुइँतलामा एटेच ट्वाइलेट । सोही ट्वाइलेटमा २०८१ चैत २७ गतेको बिहान एक व्यक्तिको शव घाँटीमा डोरी बेरेर ढलेको अवस्थामा भेटियो । शव थियो ६० वर्षीय चुडामणि कँडेलको।

शव भेटिएपछि प्रहरीलाई, ‘ ट्वाइलेटमा झुण्डिएको अवस्थामा एक जना फेला परेको’ खबर आयो । प्रहरीले त्यसपछि सुक्ष्म अनुसन्धान थाल्यो । जति-जति अनुसन्धान अगाडि बढ्दै गयो, घटना आत्महत्या नभइ गम्भीर आपराधिक षड्यन्त्रको कहानीतर्फ मोडिन थाल्यो ।

सुपारी श्रीमतीका लागि, हत्या आफ्नै

अनुसन्धानको सुरुवात धादिङ प्रहरी प्रमुख एसपी दीपेन्द्र शाही, गजुरी ईलाका प्रहरी प्रमुख डीएसपी विकास थापा, जिल्ला अस्पतालका चिकित्सक र कुकुरसहितको प्राविधिक टोलीले घटनास्थल पुगेर गर्‍यो ।

शवको प्रारम्भिक अवस्थाले आत्महत्याको भन्दा शंकास्पद मृत्युको आभास दिएको थियो । जसको पुष्टि केही दिनपछि भयो । जब कँडेलको हत्या आरोपमा तीन युवा पक्राउ परे । पक्राउ परेपछि उनीहरूले दिएको बयानले प्रहरीसमेत चकित भयो।

चुडामणिले आफ्नै पत्नी सुस्मिता सिलवालको हत्या गराउन ४ लाख रुपैयाँ ‘सुपारी’ दिएको पक्राउ परेकाले दिएको बयानले प्रहरी चकित पर्‍यो । चुडामणि र पत्नीबीच लामो समयदेखि वैवाहिक सम्बन्धमा दरार थियो । एउटै घरमा बस्दाबस्दै पनि एक–अर्कासँग कुराकानी बन्द थियो । यही कटु सम्बन्ध अन्ततः हत्या योजना तर्फ मोडिएको थियो ।

धादिङ प्रहरीका अनुसार चुडामणिले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थायी घर भई हाल गजुरी–२ ठुटेपानी बस्ने ३६ वर्षीय अक्कलबहादुरसँग पत्नीको हत्या गराउने सम्झौता गरेका थिए ।

अक्कलबहादुरले आफू सँगै राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानलाई मिसाएर सुस्मिताको हत्या योजना बुन्दै आएका थिए । तर, पटक–पटक प्रयास गर्दा पनि उनीहरूले हत्या गर्न नसकेको प्रहरीमा बयान दिएका छन् ।

चुडामणिले श्रीमतीको हत्याका लागि पैसा दिइसकेका थिए । तर, पैसा लिएकाले श्रीमतीको हत्या गर्न सकेनन् । काम नहुँदा उनले ती युवाहरूलाई निरन्तर दबाब दिइरहेका थिए । यही दबाब अन्ततः उनका लागि घातक बन्यो । लगातारको दबाबपछि श्रीमतीको हत्याका लागि पैसा पाएकाहरूले नै चुडामणिको हत्या गरेको प्रहरीमा बयान दिए ।

फेला परे पैसा, जुत्ता र कपडा

प्रहरीले अक्कलबहादुरलाई वैशाख ३ गते ठुटेपानीबाट, पृथलाल र सञ्चलाललाई वैशाख १६ गते मकवानपुरको मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ लाख रुपैयाँ नगद र मृतकको पैसाबाट किनिएको भनिएको जुत्ता, लुगा बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।