हेटौंडामा जमिनमुनी छिरेको गाडी तीन दिनसम्म फेला परेन, भूगर्भविद्‍ले अध्ययन गर्दै

0
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा शुक्रबार दिउँसो जमिन भासिँदा एक गाडी जमिनमुनी हरायो । ना ४ ख ४८३३ नम्बरको पिकअप गाडी एक्कासि भासिएको भिडियोहरु सार्वजनिक भए । तर, तीन दिनसम्म खोजी गर्दा पनि गाडी भेटिन नसकेपछि अब भूगर्भविदको सहयोगमा खोजी कार्य अगाडि बढाउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाडी हराएको स्थानमा पानी जमेको थियो, जसलाई पम्प गरेर हटाइएको छ । त्यसपछि विभिन्न उपायहरु लगाएर खोजी गरे पनि गाडी भेटीएको छैन । डोजरले थप खन्दा जमिन अझ भासिन सक्ने भएकाले खोजी कार्य तत्कालका लागि रोकिएको प्रहरीको भनाइ छ ।

आइतबार हेटौंडा उपमहानगरपालिकाले सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरूसँग बैठक गरेर घटनास्थलको भूगर्भीय परीक्षण गर्न भूगर्भ विभागको सहयोग लिने निर्णय गरेको छ । उपमहानगर प्रमुख मिना कुमारी लामाका अनुसार विभागलाई औपचारिक पत्र पठाइएको छ र प्राविधिक टोली उपकरणसहित आउने तयारीमा रहेको छ।

माटो किन भाँसियो भनेर वैज्ञानिक रुपमा बुझ्न खोजेको उनको भनाइ छ । पहिले त्यहाँ हल गोरू पनि हराएको भन्ने सुन्निएकोले त्यस क्षेत्रको विस्तृत अध्ययन जरुरी भएको उनको भनाइ छ ।

स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्र विगतमा दलदलयुक्त क्षेत्रको रूपमा चिनिन्थ्यो। वरिपरि दुईवटा माछा पोखरी पनि छन् । जमिनको भित्री बनावट तथा सम्भावित सिमसार क्षेत्रको अवस्था बुझ्न भूगर्भ विभागले विशेष औजारसहित परीक्षण गर्नेछ ।

वर्तमानमा गाडी भासिएको स्थानलाई सुरक्षाका लागि ‘प्रवेश निषेध’ लेखिएको बोर्ड राखेर बन्द गरिएको छ ।