भारतीय विदेश मन्त्रालयले भन्यो: प्रिसा साह मृत्युप्रति दुखि छौं, अनुसन्धान भइरहेको छ

322
Shares

काठमाडौं । भारतको विदेश मन्त्रालयले ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रिसा साहको मृत्युबारे ओडिसा प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको निधनले हामी मर्माहत भएका छौं। यस दुःखद घडीमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्छौं।’

घटनाको जानकारी प्राप्त भएदेखि नै भारतको विदेश मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार मृतक परिवारलाई राज्य सरकारले आवश्यक सबै सहयोग गरिरहेको छ र स्थानीय प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ।

विदेश मन्त्रालयले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने प्रतिबद्धता जनाएको छ ।

घटनासम्बन्धी सत्य तथ्य पत्ता लगाउन मन्त्रालय नेपाली अधिकारीहरू, ओडिसा राज्य सरकार तथा केआईआईटी विश्वविद्यालय प्रशासनसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ ।