ब्राजिलियन पूर्वस्टार फुटबलर रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिग हेर्न नेपाल आउने

182
Shares

काठमाडौं । ब्राजिलियन पूर्वफुटबल स्टार रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिग २०२५ मा सहभागी हुन आउने भएका छन् ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले ब्राजिलका चर्चित पूर्वफुटबल खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते दुई दिने विशेष भ्रमणका लागि काठमाडौं आउन लागेको घोषणा गरेको हो ।

फुटबल इतिहासकै महान लेफ्ट-ब्याकमध्ये एक मानिने रोबर्टो कार्लोस आफ्नो रियल मड्रिड र ब्राजिल राष्ट्रिय टिमसँगको शानदार करियरका कारण विश्वभर चिनिन्छन् । उनी वैशाख ७ गते (अप्रिल १९, २०२५) दशरथ रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलका लागि मुख्य अतिथिको रूपमा उपस्थित हुनेछन्।

यो ऐतिहासिक भ्रमणले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय ध्यान तान्नेछ र नेपाली फुटबलप्रेमीहरूलाई एक विश्वविख्यात खेल व्यक्तित्वसँग प्रत्यक्षरूपमा साक्षात्कार गर्ने दुर्लभ अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।

‘हामी फुटबलका एक महानतम खेलाडीलाई नेपाल स्वागत गर्न पाउँदा गौरवान्वित छौं,’ नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘उहाँको आगमनले लिगलाई उच्च सम्मान र प्रेरणादायक उचाइ प्रदान गर्नेछ।’

मुख्य अतिथिका रूपमा उनको सहभागिताका साथै, वैशाख ६ र ७ गते बीच थप रमाइलो कार्यक्रमहरू समेत आयोजना हुने तयारी भइरहेको छ । फ्यान तथा सञ्चारकर्मीहरूलाई आगामी सूचनाका लागि तयार रहन आयोजकले अनुरोध गरेको छ ।

एनसेल नेपाल सुपर लिग २०२५ ले नेपालको व्यावसायिक फुटबलको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।