
एजेन्सी । चीनले अमेरिकाबाट आउने वस्तुहरूमा लाग्ने भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने निर्णय गरेको छ । जुन अप्रिल १० देखि लागू हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लाग्ने शुल्क १०४ प्रतिशत बनाएपछि चीनले यो कदम चालेको हो।
ट्रम्पले ‘संयुक्त राज्यलाई लुटिरहेका देशहरू’ विरुद्ध भन्दै भन्सार शुल्क लगाएका छन् जुन बुधबार बिहानबाट लागू भएको छ । त्यसको असरस्वरूप विश्वव्यापी बजारमा गिरावट आएको छ ।
यसअघि चीनको परराष्ट्र मन्त्रालयले यदि बाध्य पारिएमा ट्रम्पका शुल्कहरुविरुद्ध ‘अन्तिमसम्म लड्ने’ चेतावनी दिएको थियो र ह्वाइट हाउसलाई ‘दादागिरीपूर्ण व्यवहार’ गरेको आरोप लगाएको थियो ।
चीनको यो घोषणापछि पहिलो प्रतिक्रिया दिँदै ट्रम्पले व्यवसायीहरूलाई अहिले अमेरिका सर्नु ‘उत्तम समय’ भएको बताएका छन्।
उता युरोपेली संघले पनि प्रतिशोधस्वरूप अमेरिकी वस्तुहरूमा नयाँ शुल्क लगाउने तयारी गरिरहेको छ जसमा मोटरसाइकल, विलासी डुंगा र सुन्तलाको जुसजस्ता वस्तुहरूमा २५ प्रतिशत शुल्क लगाउने योजना छ।
यहीबीच युरोपेली औषधि उत्पादक कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको छ । ट्रम्पले सबै औषधिजन्य आयातमा ‘ठूलो’ शुल्क लगाउने योजना रहेको टिप्पणी गरेपछि।
आजदेखि करिब ६० देशका वस्तुहरूमा उच्च भन्सार शुल्क लागू हुनु अघिनै ट्रम्पले धेरै देशहरू ‘सहमति गर्न मरिहत्ते गरिरहेका छन्’ भनेका थिए ।
ट्रम्पको ट्यारिफसँगै लन्डनको एफटीएसई १०० सूचकांक २ प्रतिशतभन्दा बढीले तल झर्यो भने जापानको निक्केई २२५ र ताइवानको टीएआईईएक्स सूचकांक क्रमशः ४ प्रतिशत र लगभग ६ प्रतिशतले ओरालो लागे ।
यी भन्सार शुल्कहरूले दर्जनौं देशको अर्थतन्त्रलाई प्रभावित पारेका छन् । जसलाई सन् १९३० को दशकयता विश्व व्यापारमा परेको सबैभन्दा ठूलो अवरोधको रूपमा हेरिएको छ।








प्रतिक्रिया