ट्रम्पको नयाँ भन्सार शुल्कले बढ्दै व्यापार युद्ध, विश्वभरका सेयर बजारमा भारी गिरावट

140
Shares


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि लगाएका थप भन्सार शुल्कहरू बुधबारदेखि लागू भएका छन् ।

ट्रम्प प्रशासनले चिनियाँ सामानहरूमाथि १०४ प्रतिशत उच्च दरको भन्सार शुल्क लगाएका छन् । यसले विश्वव्यापी व्यापार युद्धलाई थप गहिरो बनाएको छ । यद्यपि, ट्रम्पले केही राष्ट्रहरूसँग वार्ताको तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।

ट्रम्पका कडा भन्सार शुल्कहरूले दशकौँदेखि चलिरहेको विश्वव्यापी व्यापार प्रणालीमा हलचल मच्चाएको छ । जसले आर्थिक मन्दीको डर बढाएको छ र विश्वभरि स्टक बजारहरूलाई प्रभावित पारेको छ ।

ट्रम्प प्रशासनको नयाँ ट्यारिफले विश्वभरको सेयर बजार प्रभावित बनेको छ । अमेरिकाको ‘एस एण्ड पी ५००’ सूचकांकले ट्रम्पले नयाँ भन्सार शुल्क घोषणा गरेपछि लगभग ६ ट्रिलियन डलरको मूल्य गुमाइसकेको छ । जुन सन् १९५० को दशकदेखि यो सूचकांकको इतिहासमा चार दिनभित्र भएको सबैभन्दा ठूलो घाटा हो । सूचकांक अब बियर मार्केट (२० प्रतिशत भन्दा बढी गिरावट) नजिक पुगेको छ।

बुधबार एशियाली बजारहरू पुनः गिरावटतर्फ गएका छन् । जापानको निक्केई २२५ सूचकांक ३ प्रतिशतभन्दा बढी घटेको छ, दक्षिण कोरियाको मुद्रा १६ वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । लगानीकर्ताहरूले नगद सुरक्षित गर्न खोज्दा सरकारी ऋणपत्रमा पनि ठूलो गिरावट आएको छ।

अमेरिकी स्टक फ्युचर्सले वाल स्ट्रिटमा लगातार पाँचौं दिन घाटाको संकेत दिएका छन्।

ट्रम्पले भन्सार शुल्कहरू दीर्घकालीन हुने या वार्ताबाट हट्ने भन्ने विषयमा मिश्रित सन्देश दिएका छन् । एकातिर उनले यी शुल्कहरूलाई ‘स्थायी’ भनेका छन् भने अर्कातिर उनले अन्य देशहरूलाई वार्ताका लागि दबाब दिइरहेको पनि बताएका छन्।

‘हामीसँग धेरै देशहरू छन् जसले सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले मंगलबार ह्वाइट हाउसको कार्यक्रममा भने । पछि उनले चीनले पनि सहमतिको प्रयास गर्ने अपेक्षा राखेको बताए ।

अमेरिकी प्रशासनले दक्षिण कोरिया र जापानसँग वार्ता तय गरेको छ । यी दुई अमेरिका निकट ‍राष्ट्र हुन् र प्रमुख व्यापार साझेदार पनि । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी पनि अर्को साता भेटघाटका लागि अमेरिकामा भ्रमणको तयारीमा छन् ।

विश्वको सस्तो उत्पादन केन्द्र बनेको भियतनामका उपप्रधानमन्त्रीले बुधबार ट्रम्पका अर्थमन्त्री स्कट बेशेन्टसँग वार्ता गर्नेछन्।

वार्ताको सम्भावनाले मंगलबार प्रारम्भमा बजार उक्लिएको भए पनि दिनको अन्त्यसम्म अमेरिकाको स्टक बजार फेरि ओरालो लाग्यो।

चीनको प्रतिक्रिया ट्रम्पले गत चिनियाँ सामानहरूमाथि ५४ प्रतिशत शुल्क तोकेकोमा बुधबारबाट बढाएर १०४ प्रतिशत पुर्‍याइएको छ । यो कदम चीनले घोषणा गरेको प्रतिशोधी शुल्कको प्रतिक्रियास्वरूप लिइएको हो । चीनले यसलाई ब्ल्याकमेलको रूपमा लिएको बताउँदै यसको प्रतिरोध गर्ने बताएको छ ।

चीनका प्रमुख ब्रोकरेज फर्महरूले देशको सेयर बजारलाई स्थिर बनाउन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । अन्य देशहरूले पनि शुल्कको प्रभावबाट बच्न आफ्ना प्रमुख उद्योगहरूलाई जोगाउन विभिन्न उपायहरू गरिरहेका छन् ।

दक्षिण कोरियाले अटोमोबाइल उद्योगलाई समर्थन गर्न कर छुट र अनुदानसहितका आपत्कालीन उपायहरू घोषणा गरेको छ।
कतिपय अर्थशास्त्रीहरूले यो व्यापार युद्धको अन्तिम असर अमेरिकी उपभोक्ताहरूमा पर्ने बताएका छन् । जसले सामान्य सामग्रीहरू, जस्तै जुत्ता, वाइन आदिको मूल्य वृद्धि भएर खरिद गर्नुपर्ने अवस्था आउन सक्छ ।

रोयर्टसको एउटा नयाँ सर्वेक्षणअनुसार करिब तीन चौथाइ अमेरिकीहरूले अबको ६ महिनामा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्ने अपेक्षा गरेका छन् ।

बुधबारदेखि लागू भएका शुल्कहरूको पूर्ण प्रभाव तुरुन्त महसुस नहुन सक्छ, बुधवार मध्यरातसम्म ट्रान्जिटमा रहेका सामानहरू जुन मे २७ भित्र अमेरिका आइपुग्छन् । ति सामानहरु नयाँ भन्सार शुल्कबाट मुक्त हुनेछन्।

ट्रम्पले केही दिनअघि सबै देशहरूबाट आउने आयातमाथि न्यूनतम १० प्रतिशतको शुल्क लगाइसकेका छन्, जुन शनिबारदेखि लागू भएको थियो।

नयाँ शुल्कहरू बुधबार बिहानबाट लागू भएका हुन् । जसमा ट्रम्पले ती देशहरूलाई लक्षित गरेका छन् जसले अमेरिकालाई ‘ठगिरहेको’ भन्ने आरोप लगाएका छन्।

यीमध्ये धेरैजसो देशहरू अमेरिका निकट मित्र राष्ट्रहरू हुन्, जसमा युरोपेली युनियन पनि समावेश छ । युरोपलाई २० प्रतिशतको शुल्क लगाइएको छ । केही उद्योगहरूमा विशेष शुल्क पनि लागू गरिएको छ । युरोपेली युनियनका २७ सदस्य राष्ट्रहरूले प्रतिशोधी कदमबारे बुधबार निर्णय गर्ने तयारी गरेका छन् ।

ट्रम्पले अन्य देशहरूले अमेरिकी सामानमा अवरोध सिर्जना गरेर अमेरिकी व्यापारलाई रोकिरहेको आरोप लगाएका छन्। जापानजस्ता केही देशहरूले आफ्नो मुद्रा अवमूल्यन गरेर व्यापारिक फाइदा लिएको आरोप पनि लगाएका छन्, यद्यपि टोकियोले यो आरोप अस्वीकार गरेको छ।

जापानका वित्त मन्त्रीले बुधबार भने, ‘अमेरिकासँगको व्यापार वार्तामा मुद्रा विनिमय दर पनि समावेश हुन सक्नेछ ।’

ट्रम्पले आगामी दिनमा औषधिजन्य आयातमाथि ठूलो भन्सार शुल्क घोषणा गर्ने संकेत दिएका छन् । जुन हालसम्म नयाँ करबाट छुट दिइएका थोरै क्षेत्रहरूमध्ये एक हो।