
विराटनगर । मोरङ उद्योग व्यापार संघ निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । यसमा आवद्ध उद्योगी व्यवसायी विशुद्ध व्याक्तिगत, पारिवारिक र समूहको मुनाफाका लागि उद्योग र व्यवसायमा अर्बौं रुपैयाँ लगानी गर्दै आएका छन् ।
दुई सातादेखि चाहीँ उनीहरु आफ्नो व्यापार व्यवसाय छाडेर विराटनरको फुटबल विकासका लागि होमिएका छन् । यसबेला उनीहरु आफनो पेशा व्यवसाय बिर्सिएर मुलुककै पुरानो महेन्द्र गोल्डकप अर्थात् हालको विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि शारिरिक र मानसिक श्रमदेखि आर्थिक जोह गर्दैछन् ।
मुलुककै सबैभन्दा पुरानो र मोफसलको प्रतिष्ठित कहलिएको रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको ९ औं संस्करण फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद मैदानमा सञ्चालन आयोजना हुँदै छ । यही प्रतियोगिताको सफल सञ्चालन र व्यवस्थापन मात्र नभएर त्यसका लागि आर्थिक जोहका लागि संघका सबै पदाधिकारी दुई सातादेखि जुटेका हुन् ।
फुटबलसँग आवद्ध संस्था र व्यक्ति समूहले आयोजना गर्दा घाटामा जाने र निजी क्षेत्रका व्यक्ति र संस्थाले सञ्चालन गर्दा नाफामा जाने प्रतियोगिताका रुपमा पनि पछिल्लो समय चिनिँदै आएको छ, विराट गोल्डकप फुटबल प्रतियोगिता ।
विराट गोल्डकप फुटबल ट्रस्टले नवौं संस्करण आयोजनाको जिम्मेवारी संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाललाई सुम्पेको छ । त्यसको सह संयोजकमा संघको कार्यसमिति सदस्यहरु आशिष जाजु र दिपेश सुवेदी छन् ।
उक्त टिमलाई सफल पार्न संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह, महासचिव सञ्जय श्रेष्ठ, कोषाध्यक्ष राजेश बगेडिया, पूर्वअध्यक्षहरु महेश जाजु, पवन सारडा, प्रकाश मुन्दडा र पूर्व उपाध्यक्ष मोती दुगड सहित कार्यसमिति सदस्यहरु ओम शर्मा, अमित राठी, सुशिल सुराना, देवासिस गोल्छा, सृती शर्मा, जिना श्रेष्ठ र कार्यकारी निर्देशक कृष्ण रेग्मी यसबेला आफनो उद्योग व्यापार छाडेर विराट गोल्डकप फुटबलमा लागेका छन् ।
यसअघि विराटनरका ४ युवा उद्योगीले विराटनगरको क्रिकेट विकासका लागि करिब १० करोड रुपैयाँ खर्च गरेर विराटनगर किङग्स फ्रेन्चाइस क्रिकेट टिम तयार गरी काठमाडौंमा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी गराएका थिए।
म्याड स्पोर्टस (एमएडी) समूहको विराटनगर किङग्स फ्रेन्चाइस क्रिकेट टिममा अरिहन्त गु्रपका सञ्चालक तथा पूर्वक्रिकेटर पारस लुनिया, एमएम गु्रपका सञ्चालक एवं गल्फका एम्याचोर खेलाडी सुयस प्याकुरेल, म्याजिक गु्रपका सञ्चालक अनुज पोद्दार र देवनगरा गु्रपका सञ्चालक र बैंकटेश मुन्दाडाले लगानी गरेका थिए । उनीहरु यो अभियानमा एक वर्षसम्म नियमित लाग्ने छन् ।
विराट गोल्डकप फुटबल प्रतियोगिता विराटनगरको गौरव र पहिचानसँग जोडिएको छ ।
‘यो प्रतियोगितालाई निरन्तरता दिन गोल्डकप ट्रस्ट असफल देखियो,’ मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले क्लिमान्डुसँग भने, ‘विराटनगरको पहिचान र गौरवसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिन र विराटनगरको फुटबल विकासकालागि यसबेला संघ पूरै होमिएको हो ।’
संघको पुरै कार्यसमिति दुईसातादेखि फुटबलमा होमिएको छ । उनले भने, ‘संघको कार्यसमिति र पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीहरु सबैले प्रतियोगिताकालागि आ–आफना उद्योग व्यापारका नाममा धेरथोर प्रायोजन पनि गरेका छन् ।’
उनका अनुसार व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीले आ–आफनो औधोगिक उत्पादनका नाममा करिब ३५ लाख रुपैयाँ विराट गोल्डकपका नाममा प्रायोजन गरेका छन् । यो अभियानमा नेपाल उद्योग परिसंघ, विराट व्यापार संघ, उद्योग संगठन मोरङमा आवद्ध उद्योगी व्यवसायीको पनि सहभागिता छ ।
गोल्डकप प्रतियोगिताको सचिवालय पनि व्यापार संघमै खोलिएको छ । संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले भने दुईसाता भयो संघका पदाधिकारीहरुले उद्योग व्यापारको काम छाडेर फुटबलमा लागेको बताए । संघका कर्मचारीले पनि कार्यालयको काम छाडेर फुटबलका लागि काम गरेको त्यति नै भयो । रेग्मीले भने, ‘मोरङ उद्योग व्यापार संघ यसबेला फुटबलमय बनेको छ।’
वि.सं. २०१८ सालदेखि राजा महेन्द्रको नाममा महेन्द्र गोल्डकपका रुपमा २८ औं संस्करण सम्म सञ्चालन भएको यो प्रतियोगिता २०६२÷६३ को राजनीतिक परिवर्तनसँगै विराट गोल्डकपमा परिणत भएको हो ।
यही प्रतियोगिताकै लागि कोशी प्रदेशको पहिलो प्रदेश सरकारले ५ करोडको लागतमा यहाँको सहिद मैदानमा स्थायी फड्लाईटको व्यवस्था गरेपछि प्रतियोगिताको पाँचौ संस्करण यताका हरेक संस्करण रात्रीकालीन सञ्चालन हुँदै आएको छ ।
२०१८ देखि २०६० सालमा महेन्द्र गोल्डकपका नाममा यो प्रतियोगिताको २८ औं संस्करण आयोजना भएको थियो । २०६२/६३ राजनीतिक परिवर्तनसँगै विराट गोल्डकप ट्रस्ट स्थापना भएर २०६८ सालदेखि महेन्द्र गोल्डकपलाई विराट गोल्डकपमा रुपान्तर गरेर आयोजना गर्न थालेको हो ।
महेन्द्र गोल्डकप २०१८ देखि ३५ सालसम्म नियमित आयोजना भएको विगत छ । त्यसपछि ०३७, ०३८, ०४४, ०४५, ०४८, ०५१, ०५४, ०५६, ०५९ र ०६० सालमा महेन्द्र गोल्डकपका नाममा आयोजना भएको इतिहास छ । त्यसयता ०६८, ०६९, ०७१, ०७२, ०७५, ०७७, ०७९ र ०८० मा विराट गोल्डकपका नाममा आयोजना भएर अहिले विराट गोल्डकपको ९ औं संस्करणको तयारी भइरहेको छ ।
यो प्रतियोगिताको पहिलो संस्करण २०१८ को उपाधि भारत कोलकाताको एलेभन जेवेलसले जितेको थियो । दोस्रो संस्करणको उपाधि मोरङ ११ ले जत्दा तेस्रो देखि १२ औं संस्करण सम्मको उपाधि भारत कोलकाताको भारती साम्घा, माल्डा टाउन क्लब, बिधान चन्द्र कलेज, मित्र साम्लीनी, शान्ताफोसिया क्लब, साहना बीएसपी क्लब, उसा बीएफसी क्लब, कोरओवन क्लब, जर्जटेलीग्राफले जितेको थियो ।
त्यसैगरी प्रतियोगिताको १३औं संस्करण टाउन क्लब जम्सेदपुर भारत, १४ औं थिम्पु ११ भुटान, १५औं कन्ट्रोल एक्सीस कोलकाता, १६औं एशियन नर्थ क्लब कोलकाता, १७औं महेन्द्र पुलिस क्लब, १८औं लार टाउन क्लब कोलकाता, १९औं एमसिआर क्लब मुम्बई, २०औं ब्वाइज यूनियन, २१औं जनकपुर चुरोट कारखाना, २२औं मनाङ मस्याङदी क्लब, २३औं जनकपुर चुरोट कारखाना, २४औं स्र्टन रेल्वे कोलकाता, २५औं एनआरटी क्लब कोलकाता, २६औं आरसीटी क्लब काठमाडौं तथा २७ र २८औं सस्करकरणको महेन्द्र गोल्डकप उपाधि महेन्द्र पुलिस क्लब काठमाडौंले जितेको इतिहास छ ।
२०६८ सालदेखि यो प्रतियोगिता विराट गोल्डकपमा रुपान्तर भएर सञ्चालन हुँदा पहिलो संस्करणको उपाधि हिमालयन शेर्पा क्लब, दोस्रो संकटा क्लब, तेस्रो झापा ११, चौथो नेपाल पुलिस क्लब, पाँचौं थ्रि स्टार क्लब, छैटौं एपीएफ, सातौ विराटनगर सिटी फुटबल क्लब र आठौं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।
गोल्डकप ट्रस्ट प्रतियोगितालाई निरन्तरता दिन असफल हुनुका साथै ट्रस्ट आफैंले प्रतियोगिताको आयोजना गर्दा निरन्तर घाटामा गएपछि ट्रस्टले प्रतियोगिता आयोजना गर्न निजी क्षेत्र अर्थात् विराटनगरका उद्योगी व्यवसायीलाई जिम्मा लगाउँदै आएको छ ।
त्यसैक्रममा प्रतियोगिताको नवौ संस्करणको जिम्मेवारी यसपाली मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले पाएका छन् । यसअघि चौथो संस्करणको संयोजक पनि रिजाल नै थिए । त्यसबेला रिजालले नाफा भएको ६ लाख रुपैयाँ ट्रस्टलाई हस्तान्तरण गरेका थिए ।
गतवर्ष गोल्डकप ट्रस्ट आफैंले आठौ संस्करण आयोजना गर्दा साढे २२ लाख घाटा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसअघि सातौं संस्करणको जिम्मेवारी विराटनगर महानगरका मेयर नागेश कोइरालाले लिँदा ८७ लाख घाटा भएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतियोगिताको छैटौं संस्करण व्यवसायी मनोजविक्रम राणा र पाँचौ संस्करण उद्योगी तथा हालका नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतको संयोजकत्वमा सम्पन्न भएको थियो । राणा र राउतले पनि प्रतियोगितावाट नाफा भएको १० लाख रुपैयाँ भन्दा बढी रकम ट्रस्टलाई हस्तान्तरण गरेका थिए ।
त्यसअघिका हरेक संस्करण ट्रस्ट आफैंले आयोजना गर्दा घाटा भएको प्रतिवेदन सार्वजनिक हुँदै आएको थियो । रिजाल, राउत र राणा संयोजक भएर प्रतियोगिता सम्पन्न गर्दा नाफा भएको १६ लाख रुपैयाँ ट्रस्टलाई उपलब्ध गराएका थिए ।
तर, ट्रस्टले त्यो सबै रकम मासेर टाट पल्टेपछि प्रतियोगिताको भविष्य नै अनिश्चित बन्दा त्यसको निरन्तरताका लागि रिजालको नेतृत्वमा व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीले काँध हालेका हुन् ।
फागुन १९ गतेदेखि सुरु हुने नवौ संस्करणको प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ करोड ३५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका संयोजक नविन रिजालले बताए । उक्त रकम व्यापार संघमा आवद्ध उद्योगी व्यवसायी सहित राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, विराटनगर महानगरपालिका, मुख्य प्रायोजक, सहप्रायोजक, विज्ञापनदाता, टिकट विक्री र विभिन्न संघ संस्थाबाट उपलब्ध हुने रिजालको विश्वास छ ।
प्रतियोगितामा भारतका दुई र विभागीय तिन सहित स्वदेशी ८ टिम गरी १० टिमले प्रतिष्पर्धा गर्नेछन् । विजेताले गोल्डकप सहित ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार राशी पाउने छन् ।
मेयर कोइराला संयोजक रहेको सातौं संस्करणका विजेताले २० लाख र उपविजेताले साढे १० लाख पुरस्कार पाएका थिए । पुरस्कार राशी आठौ संस्करणको भन्दा घटाइएको हो ।
नवौं संस्करणमा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकताले जनही १५ हजार, उत्कृष्ट खेलाडीले ११ हजार र सर्वोकृष्ट खेलाडीले ५१ हजार रुपैयाँ पुरस्कार पाउने रिजालले बताए । यसअघिका संस्करणमा सर्वोकृष्ट खेलाडीलाई पुरस्कार स्वरुप मोटर साइकल दिइएको थियो ।
आर्थिक मन्दिले सबै क्षेत्र थलिएर आर्थिक स्रोत जुटाउन गाह्रो भइरहेको उल्लेख गर्दै संयोजक रिजालले भने, ‘विराटनगरको पहिचान र गौरवसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिन र विराटनगरको फुटबल विकासमा मद्यत गर्न हामी निजी क्षेत्रले चुनौती मोलेका हौं ।’
प्रतिक्रिया