वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्बको वस्तु निर्यात

84
Shares

वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाहुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँबराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँबराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका सानारठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।

“गत आवको तुलनामा चालु आवमा निर्यातमा उत्साहजनक ढङ्गले वृद्धि हुँदै आइरहेको छ”, उनले भने ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड रुपैयाँ पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

तीन अर्ब ९६ करोड रुपैयाँ पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड रुपैयाँ पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड रुपैयाँ पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।