
काठमाडौं । देशभर भएको विभिन्न दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ ।
स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए । सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पौडेलले बताए।
यस्तै धादिङमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौँ पठाइएको छ ।
आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि ल्याउने क्रममा दुर्घटना भएको हो । मृतकसहित चार जना ट्याङ्करमा चढेका थिए ।
ट्याक्टर चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासीमा पनि एकजनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मङ्गलबार साँझ मृत्यु भएको हो ।
झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियाको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छभने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताए।
मङ्गलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो ।
घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया