स्वर्णिम वाग्लेप्रति मुकुलको कटाक्ष: रविलाई घेराबन्दी गरेर जेल पुर्‍याए, पार्टी प्रवेश गरेदेखि नै राजनीति गरे



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का निलम्बित महासचिव मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन् ।

ढकालले सामाजिक सन्जालमार्फत स्वर्णिम वाग्लेहरुले नै सभापति रवि लामिछानेलाई उचालेर जेलसम्म पुर्‍याएको आरोप लगाएका हुन् ।

रवि र आफूले जे उद्देश्यका लागि वाग्लेहरुलाई  भित्र्याएको हो त्यसको ठीक बिपरित पार्टीभित्रै राजनीति गरेर रविलाई जेल पुर्‍याएको ढकाल बताउँछन् ।

रास्वपा घोषणा गर्दाताकाको फोटो राखेर सम्झानामा असार ०७ र १७, २०७९ भन्दै ढकालले पार्टी निर्माणमा रवि लामिछाने र आफूहरुले मिहेनत गरेको बुद्धी लगाएको र पैसा खन्याएको तर पछि पार्टीमा प्रवेश गरेकाले लामिछानेलाई घेराबन्दीमा पारेर जेलसम्म पुर्‍याएको उनको दलिल छ ।  

‘अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र असार १७, २०७९ मा के भएको थियो, त्यो पनि थाहा छैन होला । जोखिम बेहोर्यौँ हामीले, मिहिनेत गर्यौँ हामीले, बुद्धि बगायौँ हामीले, पैसा खन्यायौँ हामीले तर आज …’ उनले लेखेका छन्- ‘रवि दाईलाई घेराबन्दीमा पारेर जेल पुर्याइयो । मलाई रवि दाईले बुझ्नुभएन ।’

यस्तो छ मुकुलको भनाइ

सम्झानामा असार ०७ र १७, २०७९ ।
अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र असार १७, २०७९ मा के भएको थियो, त्यो पनि थाहा छैन होला । जोखिम बेहोर्यौँ हामीले, मिहिनेत गर्यौँ हामीले, बुद्धि बगायौँ हामीले, पैसा खन्यायौँ हामीले तर आज …..रवि दाइ भन्नु हुन्थ्यो, “मुकुलको शैली फरक होला, तर सत्य बोल्छ । उसको कुरा सिरियसली लिन पर्छ । मुकुलले जे बोल्छ, पार्टी र देशका लागी बोल्छ । तर केहि शैलीगत समस्या छन्, विस्तारै सुधार हुँदै जान्छ, मैले बुझेको छु, म तपाईंहरूलाई बुझाउँछु, चिन्ता नलिनु ।” यी कुराहरू रवि दाइले मसँग मात्र होइन, केन्द्रीय समितिमा गर्नु भएको छ, पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै नेतासँग वन टू वन कुरामा पनि यहि भन्नुहुन्थ्यो ।

तर देश सानो टिमले बन्दैन । ठूलो टिम चाहिन्छ । अझ टिममा देशको अर्थतन्त्र बुझेको दरिलो साथी चाहिन्छ । त्यहि सोचेर, हामीले केहि साथीहरू भित्रायौँ तर समयक्रमले तिनीहरूलाई जे कुराका लागी ल्याएका थियौँ, सोच्यौँ देशका लागी बोल्छन्, जनताका लागी बोल्छन्, विज्ञ छन्, देश बनाउने केहि फर्मुला निकाल्छन्, तर हामी गलत सावित भयौँ, आएकै दिनबाट राजनीति गर्न शुरू गरे ।

राजनीतिक खेल यति साह्रो खेलिसकिएको रहेछ की , मुकुलको कुरा म बुझ्छु भन्ने रवि दाइलाई , “दाइ, अब यस्तो तालले जेल जानुहुन्छ” भनेर खबरदारी गर्दा , रवि दाइले पनि मेरो कुरा बुझ्न छोडिसक्नु भएछ । दाइलाई घेराबन्दीमा पारिसकेछन् । मुकुलले सत्य बोल्छ, बुझ्न जान्नुपर्छ भन्ने दाइले नै बुझेनन् । रवि दाइ भन्नुहुन्थ्यो, “मुकुल, तिम्रा कुरा बुझ्ने तरिका म अरूलाई पनि सिकाउँछु ।” तर परिस्थिति बदलिँदै गयो, मेरा कुरा अन्तिममा दाइले नै बुझ्न सक्नु भएन । मैले भनेको थिए, “तपाईंको जिबी राइसँगको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ, यहाँ कागजले समस्या पारेको छ ।” तर रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि, मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन । काश, यदि रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो ।

हिरासतमा परेपछी पनि मैले रवि दाइलाई भेट्न खोजे, कानुनी पाटोमा सहयोग गर्न पनि खोजे, तर रवि दाइलाई घेरा हालिसकेका रहेछन् , भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला, तर वर्षौँ काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए । म त बाहिर छु, ६ महिनादेखी , तर पनि आरोप लागिरह्यो । म भनिरहे, मैले सावधान गराइरहे, तर कहिले गँजेडी र कहिले हैसियत के भनेर म विरूद्ध जनतालाई गुम्राहामा पारिरहे , मेरा कुरामा रवि दाइलाई एकछिन सोच्न पनि दिएनन् । यदि मेरा कुरा गम्भिर भएर सोचेको भए, आजको स्थिति विलकुल फरक हुन्थ्यो ।

(तस्वीरमा असार १७, २०७९ मा पार्टी दर्ता भएको प्रमाणपत्र सहित रवि दाइ, म र डिपि सर)


क्लिकमान्डु