एनपीएल : प्लेअफको सम्भावना बलियो बनाउँदै काठमाडौं, पोखराको गणितीय सम्भावना कायमै



काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाउँदै १४२ रन बनायो। काठमाडौंका स्टिफन एस्किनाजीले अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले १० चौकासहित ६० रन बनाए ।

काठमाडौंका लागि ओपनर माइकल लेभिट ३२ रन बनाउँदा भीम सार्कीले २२ रनको योगदान गरे ।

पोखराका विपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।

पाखराका लागि ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे । २५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । रोमन रेइफर ४१ रनको योगदान गर्दा दिलिप नाथ २७ रन बानाए ।

काठमाडौंका करण र राशिद समान ३–३ विकेट लिए । योसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावना कायम राखेको छ । काठमाडौंले अन्तिम खेलमा विराटनगर किङ्ससँग खेल्ने छ । यता ६ खेलमा ४ अंक जोडेको पोखराको गणितीय सम्भावना मात्र कायम छ ।


क्लिकमान्डु