सरकारी कार्यालयमा स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्नुपर्छ: अध्यक्ष नेपाल

119
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाज तथा कार्यालयमा स्वदेशमै उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।

सोफा उत्पादक सङ्घको पहिलो साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमै खपत गर्न सके आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताएका थिए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनमा जोड दिँदै निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य खेम लोहनीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने भन्दै डढेलो नियन्त्रण तथा चारकोशे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने बताएका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले देश विकासका लागि उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष तारालाल धरेलले देशभर २ सय उद्योग रहेको जनाउँदै यस क्षेत्रले १० हजार जनालाई रोजगारी उपलब्ध गराएको पनि बताएका थिए । उनले सरकारी कार्यालयमा नेपाली सोफाको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका उपाध्यक्ष राममणि गैरेले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र र सरकारको समन्वय र सहकार्यको खाँचो औँल्याउँदै राष्ट्रिय पुँजीपतिको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

Skip This