काठमाडौं । स्वास्थ्यवर्द्धक मसलाको रुपमा परिचित बेसारमा मानव स्वास्थ्यलाई हानी पुर्याउने गरी अत्याधिक मात्रामा सिसा (लिड) को मात्रा पाइएको छ ।
बेसारलाई औषधीय गुण भएको स्वास्थ्यवर्द्धक विशेष प्रकारको मसला मानिन्छ । यसमा एन्टीअक्सिडेन्ट, एण्टीइम्फलामेन्ट र करक्युमिन भन्ने तत्व पाइएकाले मानव स्वास्थ्यको लागि बेसारलाई स्वास्थ्यवर्द्धकक मसलाको रुपमा लिने गरिन्छ ।
तर त्यहि स्वास्थ्यवर्द्धक मानिएको जरासहितको ढिक्के बेसार र धुलो बेसार खानै नहुने गरी निक्कै घातक भएको अवस्थामा फेला परेको छ ।
बेसारको दुई रुप जरासहितको ढिक्के र धुलोमा सिसाको मात्रा अत्याधिक पाइएको हो । माटोमा जथाभावी सिसासहितको फोहोर विसर्जन गरेका कारण माटो नै सिसायुक्त बनेको एक अन्तर्राष्ट्रिय अध्ययनले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
अमेरिकाको स्टेनफोर्ड यूनिभर्सिटीको स्कूल अफ मेडिसिन हुवर इस्टिच्युटिसन, प्योर अर्थ र भारतको दिल्लीस्थित फ्रीडम एम्प्लाँयबिलिटी एकेडेमीले संयुक्त रुपमा गरेको अध्ययन अनुसार बेसारमा २०० गुणा बढी परिमाणमा सिसाको मात्रा पाइएको हो ।
यो प्रतिवेदन नेदरल्याण्डको जर्नल साइन्स अफ द टोटल इनभ्यारोमेन्टमा प्रकाशित भएको छ ।
प्रकाशित प्रतिवेदनअनुसार यस्तो अध्ययन भारत, पाकिस्तान, श्रीलंका र नेपालको २३ प्रमुख शहरमा गरिएको थियो । २३ शहरबाट जरासहितको ढिक्के बेसार र धुलो पारेर प्याकेजिङ्ग गरिएको र प्याकेजिङ्ग नगरिएको बेसारमा २०० गुणा बढी मात्रामा सिसाको मात्रा पाइएको हो ।
अध्ययनको क्रममा नेपालको काठमाडौंको विभिन्न बजारबाट पनि जरासहितको ढिक्के बेसार र धुलो बेसारको नमूना पनि संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा भारतबाट पनि अत्याधिक परिमाणमा बेसार आयात हुने गर्छ ।
अध्ययनको लागि चार मुलुकको २३ शहरबाट ३५६ वटा जरासहितको ढिक्के बेसार र धुलो बेसारको नमूना संकलन गरिएको थियो । यसमध्ये १८० वटा जरासहितको ढिक्के बेसार र १७६ वटा धुलो बेसारको नमूना संकलन गरिएको थियो ।
संकलन गरिएको नमूनामध्ये रंग लगाइएको जरासहितको बेसारको नमूना १४३, रंग नलगाइएको जरासहितको बेसारको नमूना ३७, खुल्ला बेसारको पाउडरको नमूना ९०, सामान्य प्याकेजिङ्ग गरिएको धुलो वेसारको नमूना २८ र ब्राण्डेड बेसार धुलोको नमूना ५८ वटा गरी कूल ३५६ वटा नमूना चारवटा मुलुकबाट संकलन गरिएको थियो ।
संकलित नमूनामध्ये १४ प्रतिशत नमूनामा सिसाको मात्रा २ माइक्रोग्राम प्रति ग्रामभन्दा अत्याधिक पाइएको छ ।
अध्ययनको क्रममा जरासहितको ढिक्के र धुलो बेसारमा अधिकतम २ हजार ९ सय ३६ माइक्रोग्रामसम्म सिसाको मात्रा पाइएको हो ।
एफएसएसएआईले बेसारमा लेड क्रोमेट, स्टार्च, लेड क्रोमेट पेन्ट (रंग), रबर र प्लास्टिकलगायत अन्य कुनै पनि प्रकारको तत्व समिश्रण गर्न नपाइने मापदण्ड तोकेको छ ।
भारतको फूड सेफ्टी एण्ड स्टाण्डर्ड अर्थोरिटी अफ इण्डिया(एफएसएसएआई) ले तोकेको मापदण्डभन्दा निक्कै बढी सिसाको मात्रा पाइएको औल्याइएको छ ।
भारतको एफएसएसएआईले जरासहितको ढिक्के बेसार र धुलो बेसारमा सिसाको स्वीकार्य मात्रा अधिकतम १० माइक्रोग्राम मात्र तोकेको छ ।
मुख्यगरी भारतमा उत्पादन भएको बेसारमा मापदण्डभन्दा १ हजार माइक्रोग्राम प्रति ग्रामसम्म पाइएको छ । बेसारलाई टल्काउन पनि किसान र व्यवसायीको मिलेमतोमा रंगको पोलिस लगाउने काम हुन्छ । यसले गर्दा पनि बेसारमा सिसाको अवशेष फेला पर्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘यो परिमाणमा सिसाको मात्रा पाइनु भनेको हाम्रो बेसारको अवस्था निक्कै भयावह भएको बुझाउँछ, हामी स्वास्थ्यवर्द्धकको रुपमा हरेक प्र्कारका खाद्य पदार्थ तयार पार्न बेसार प्रयोग गर्छौ । तर त्यहि बेसार अहिले मानव स्वास्थ्यलाई सबैभन्दा बढी हानी गर्ने अवस्थामा भेटिएको छ ।’
भारतको पटनाबाट संकलन गरिएको जरासहितको ढिक्के बेसार र धुलो बेसारमा औसत न्युनतम सिसाको मात्रा १ हजार २ सय ३२ माइक्रोग्रामसम्म पाइएको छ भने अधिकतम २ हजार २ सय ७४ माइक्रोग्रामसम्म पाइएको छ ।
पाकिस्तानको बेसारमा अधिकतम २ हजार ९ सय ३६ माइक्रोग्रामसम्म सिसाको मात्रा भेटिएको छ । यस्तै नेपालबाट संकलन भएको बेसारमा पनि सिसाको मात्रा अधिकतम १ हजार माइक्रोग्रामभन्दा बढी पाइएको छ ।
नेपालमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रतिकिलोमा १० मिलिग्राम सिसाको स्वीकार्य मात्राको सीमा निर्धारण गरेको छ । नेपालमा आयात हुने ढिक्के बेसार र धुलो बेसारको भने सीमा नाकामा परीक्षण हुँदैन । परीक्षणबिनै नेपालमा आयात भइरहेको छ ।
कसरी सर्यो बेसारमा सिसा ?
प्रतिवेदनअनुसार जरासहितको ढिक्के बेसार र धुलो बेसारमा मुख्य गरी प्राकृतिकरुपमा माटोमार्फत नै सिसाको अवशेष सरेर आएको पाइएको छ ।
प्रतिवेदन अनुसार सिसा र सिसाको तत्व उपस्थित भएको विभिन्न पदार्थ जताभावी रुपमा हुने बिसर्जनले गर्दा ती सबै पदार्थ अन्तिम अवस्थामा माटो र पानीमा समिश्रण हुन्छ ।
‘त्यही सिसायुक्त प्रदूषित र अस्वस्थ्य माटो र पानीको सहयोगमा बेसारको खेती हुँदै आएको छ,’ प्रतिवेदनमा भनिएको छ,‘ यसरी प्रदूषित माटो र पानीको सहयोगमा भएको खेतीका कारण माटोमार्फत उत्पादन भएको जरासहितको ढिक्के बेसार र उत्पादन पश्चात प्रशोधन गरि तयार पारिएको धुलो बेसारमा सिसाको अवशेष सरेको हो ।’
अर्थात सोझो भाषामा भन्ने हो भने रुख विरुवालाई आवश्यक पर्ने तत्वहरु माटो, पानी र घामबाट सोस्ने गर्छ । त्यही क्रममा माटो र पानीमा उपस्थित रहेको सिसाको मात्रा पनि रुखविरुवामा सरेको हो ।
माटोबाट उत्पादन भएको जरासहितको बेसार र धुलो बेसारमा अप्रत्यक्ष रुपमा सरेका कारण ति दुवै प्रकारको बेसारमा सिसाको अवशेष अत्याधिक परिमाणमा भेटिएको प्रतिवेदनले औल्याएको छ ।
सिसाका कारण बर्षेनी साढे १५ लाख व्यक्तिको मृत्यु
उक्त प्रतिवेदनअनुसार विभिन्न प्रकारकाले मानव शरीरमा सिसाको मात्रा प्रवेश गरेका कारण विश्वभर बर्षेनी साढे ५५ लाख व्यक्ति शिकार भइरहेका छन् ।
विभिन्न स्रोतबाट मानव शरीरमा प्रवेश गर्ने यो सिसा हाडमा गएर जम्मा हुने गर्छ । यसरी जम्मा हुँदै गएर मस्तिक्स, मुटु र किडनीमा प्रत्यक्ष रुपमा यसले असर पुर्याउने गर्छ । जसका कारण हर्ट अट्याक, मृगौला फेल, कलेजो र मुटु रोग, ब्लड प्रेसर उच्चका साथै बौद्धिकस्तरमा ठूलो प्रभाव पार्दैआएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार लिड प्वाइजनिङ्गका कारण बर्षेनी १५ लाख व्यक्तिको अकालमा मृत्यु भइरहेको छ भने करोडौं बालबालिका दीर्घकालिन रुपमा घातक रोगबाट प्रभावित भएका छन् ।
सिसाको कारण मुख्य गरी बालबालिकाको मानसिक स्वास्थ्यमाथि असर पुर्याइरहेको छ । मुटु, मस्तिक्स, मेटाबोलिज्म, कलेजो, मृगौलामा ठूलो असर पुर्याउँदै आएको छ । एनिमिया, उच्च रक्तचाप, इम्युनोटाँक्सिसिटीका साथै प्रजनन अंगमा ठूलो असर पुर्याएको डब्लुएचओले औल्याएको छ
सिसाको कारण बालबालिकाको आईक्यु (बौद्धिकस्तर) मा पनि निक्कै घातकरुपमा प्रभाव पारेको प्रतिवेदनले औंल्याएको छ ।
विश्व बैंकको एक प्रतिवेदनअनुसार विकासशील मुलुकको ४७ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा ५ माइक्रोग्राम प्रति डेसीलिटरभन्दा बढी पाइएको छ ।
यस्तै २८ प्रतिशत बालबालिकामा यो मात्रा १० माइक्रोग्राम प्रति डेसीलिटरभन्दा बढी मात्रामा पाइएको छ । अर्थात संसारभरको ८० करोड बालबालिकामा सिसाको स्वीकार्य मात्रा सीमाभन्दा अत्याधिक मात्रामा पाइएको छ ।
सिसालाई हेभी मेटल समूहभित्र सूचीकृत गरिएको छ । साथै मानव स्वास्थ्यको लागि सबैभन्दा हानिकारण मानिएको १० केमिकलमा समेत सिसा सूचीकृत छ ।
नेपालको माटोमा उपस्थित सिसाको परीक्षण हुँदैन
केन्द्रिय कृषि प्रयोगशालाका प्रमुख डा शान्ता कार्कीका अनुसार केन्द्रिय कृषि प्रयोगशालामा माटोमा उपस्थित हुने सिसाको परिमाण वा अवशेषको बिषयमा परीक्षण गर्ने सुविधा छैन।
‘हाम्रो केन्द्रिय कृषि प्रयोगशालामा हेभी मेटलअन्तर्गत पर्ने पदार्थहरुको परीक्षण गर्ने सुविधा छैन,’ प्रमुख कार्कीले भनिन्, ‘माटोमा उपस्थित रहने हेभी मेटल परीक्षणसम्बन्धी उपकरण, दक्ष प्राविधिकको व्यवस्थापन हुन नसक्दा सिसाजस्ता पदार्थको परीक्षण हुन नसकेको हो ।’
नेपालमा भारतबाट पनि हुन्छ ४५ करोड रुपैयाँबराबरको बेसारको आयात
कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याँकअनुसार नेपालमा ९ हजार २२ हेक्टरबाट ९० हजार ४ सय २८ मेट्रिक टन बेसारको उत्पादन हुन्छ ।
त्यसले माग धान्न नसक्दा वार्षिकरुपमा भारतबाट मात्रै करिब ४० देखि ४५ करोड रुपैयाँबराबरको करिब ३ हजार मेट्रिक टनको हाराहारीमा जरासहितको ढिक्के, धुलो र परिवर्तित रुपमा बेसार नेपालमा आयात हुँदै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधीमै ११ करोड ६५ लाख रुपैयाँबराबरको ५ सय ११ मेट्रिक टन विभिन्न प्रकारको बेसार भारतबाट आयात भएको छ ।
एक तथ्यांकअनुसार भारत, पाकिस्तान, श्रीलंका र नेपाल संसारभर उत्पादन हुने बेसारमध्ये झण्डै ८० प्रतिशत उत्पादन गर्दैआएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा २ लाख ७८ हजार मे टन, तेलंगनामा २ लाख ५० हजार, कर्नाटकमा १ लाख ३० हजार, तमिलनाडुमा १ लाख, मधय प्रदेशमा ८० हजार, आन्ध्र प्रदेशमा ७३ हजार, ओरिसामा ६९ हजार मेटन वेसार उत्पादन हुन्छ ।
विश्वभर कूल उत्पादन हुने बेसारको परिमाणमध्ये झण्डै ७५ प्रतिशत भारतमा उत्पादन हुने गर्छ । विश्वभर बेसारको कारोबारको कूल हिस्सा मध्ये ६३ प्रतिशत भारतले मात्रै गर्छ ।
प्रतिक्रिया