भारतको मेडिकल कलेजमा भीषण आगलागी, कम्तिमा १० शिशुको मृत्यु, ३७ घाइते
भारत । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू) मा आगलागी भएको हो। केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
झाँसीको जिल्ला मजिस्ट्रेटले आगलागीको घटनामा परेर १० शिशुको मृत्यु भएको पुष्टि गरेको छ । यस्तै ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ ।
यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।