ओछ्यानमै मृत भेटिए दम्पती, हत्याको आशंका
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीस्थित श्रीमान र श्रीमति घरभित्रै मृत अवस्थामा भेटिएका छन् । विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमल शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई शुक्रबार बिहान मृत भेटिएको हो । घटनाको विषयमा स्थानीयहरुले प्रहरीलाई बिहानै खबर गरेका थिए ।
तर मृतकको शरीरमा रगत र हतियार प्रहार गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले भने, ‘घटना शङ्कास्पद छ । मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ । घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’