बोसे आन्द्रामा रक्ति भर्न एक्स्पर्ट हुँ, पाहुनालाई मिठो पोर्क बनाएर खुवाउँछुः अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई दशैं भन्नेवित्तीकै वर्षभर कामबाट ब्रेक पाउने अवधि जस्तो छ । दशैं नै बेला हो श्रेष्ठ परिवारको मिलन हुने ।
श्रेष्ठ परिवारमा २२–२३ जना सदस्य छन् । दशैंमा सबैजना पोखरा घरमा जम्मा हुन्छन् ।
त्यसैले दशैं भन्नेवित्तीकै पोखरा जाने कुरा अञ्जनको मनमा आउँछ । यतिबेला होस्टेलमा बस्ने भएकाले अञ्जनको मनमा दशैं आयो भनेर पोखरा जाने सोच आउँथ्यो । अहिले पनि मनको भाव फेरिएको हो ।
उनका लागि दशैं नयाँ लुगाका लागि होइन । थाहा भएदेखि टीका लगाउने दिन नयाँ लुगा लगाएका छैनन् ।
मिठो खानाको पारखी हुन् अञ्जन । चिउरा भनेपछि हुरुक्कै हुन्छन् । ‘कसैले चिउरा खाने कि भात खाने भनेर सोध्यो भने मेरो जवाफ चिउरा हुन्छ,’ उनी भन्छन्, ‘चिउरामा चाही परिकार चाहिन्छ । भटमास, अदुवा लसुन, तामाको तरकारी, छोयला र नेवारी तरिकाले फ्यात्त पकाएको मासु हुनुपर्छ ।’ र, ऐला पनि सँगसँगै चाहिन्छ उनलाई ।
खान मन पराउनेमात्र होइन, खाना बनाउने पनि गर्छन् उनी । खाना बनाउने बानी सानैदेखिको हो । भाइहरु निरञ्जन र निराकारसँग बस्दा मासु बनाउने जिम्मा अञ्जनको हुन्थ्यो । कहिले झोल त कहिले फ्राइ बनाउँथे त्यो पनि मुड अनुसार ।
महासंघका वरिष्ठ उपाध्यक्ष अहिले पनि किचेनमा पसेर खाना पकाउँछन् । र, यो कामवापत प्रशंसा पनि पाउँछन् ।
‘मलाई पकाउन कन्फिडेन्स छ,’ खान र पकाउनको रुचीबारे उनले भने ।
श्रेष्ठ परिवारमा सप्तमीको दिन पोखरामा हाजिर हुनुपर्ने नियम छ । त्यतिबेला सेलरोटी पोल्न सुरु भइसकेको हुन्छ । दशैंमा घरका सहयोगीहरुको पनि बिदा हुने भएकाले पकाउने जिम्मा आफ्नै हुने गर्छ ।
‘सप्तमीको दिन पोखराको टुंडिखेलमा च्यांग्रा किन्छौं, दाजु च्यांग्रा छान्ने एक्सपर्ट हुनुहुन्छ । उहाँ खोरपालुवा कि जडिबुटी चरेको सजिलै छुट्याउनुहुन्छ,’ अञ्जन भन्छन्, ‘जडिबुटी चरेको च्यांग्रा छानेपछि काटमार र व्यवस्थापन गर्ने कार्य मिलेर गर्छौं ।’
अञ्जनको काम हो, फोक्सो बनाउने र बोसे आन्द्रामा रक्ति भर्ने । ‘बोसे आन्द्रामा रक्ति भर्ने कामको विशेषज्ञ हुँ । परिवारको अरु सदस्यले अन्य काम पनि यो काम मेरो लागि छुट्याइन्थ्यो,’ उनले भने ।
खानाका पारखी अञ्जन मांशाहारीमा भने कट्टर सोच राख्छन् । विदेश जाँदा बिफबाहेक सबै खान्छन् । पोर्क धेरै नै मनपर्छ उनलाई । चीन, थाइल्यान्ड लगायत देश जाँदा चिकेन भन्दा पोर्क नै खान्छन् ।
कसैकामा पाहुना जाँदा जे पकाएर दिएपनि स्वाद मानेर खान्छन् । केही खाना छ उनलाई सुट गर्दैन । जस्तै सुपको साग खानै सक्दैनन् । बास्ना आएपछि असहज महसुस हुन्छ रे ।
होस्टल बस्दा लामो गिलासमा चिया खाएको र चियामा डुबेको पाउरोटी औंलाले तानेर खाएको सम्झना गर्दै भने, ‘अहिले पनि घरमा चिया खाँदा चोरी औंलाले पाउरोटी तानेर खान्छु, यसले छुट्टै अनुभुती दिन्छ,’ अञ्जन भन्छन् ।
घरमा कोही साथी पाहुना बनेर आउनुभयो भने के पकाएर खुवाउनु हुन्छ ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ, ‘पोर्क फ्राइ बनाएर खुवाउँछु ।’ रेसिपी चाहीँ सेयर गर्न चाहेनन् । उनले भने, ‘छ एउटा रेसिपि, सिक्रेट थाह पाउन मेरो घरमै आउनुपर्छ ।’
अचेल उनलाई स्वाद भन्दा पनि सफा र स्वच्छ खाना खान मन पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन ताका देश दौडाहको क्रममा पनि खानेकुरामा नाइनास्ती नगरेको उनी सुनाउँछन् । ‘सफा र राम्रो खाना पाइन्छ भने खाइहालुम् भनें,’ अञ्जनले थपे ।
चाइनिज र कोरियन खाना पाउने रेस्टुरेन्ट खुब जान्छन् उनी । कुनै खाना मन पर्यो भने पटकपटक जान्छन् । पिरो र मसालेदार खान असाध्यै रुचाउँछन् । ‘एकै ठाउँमा जाने गरेकाले घरमा गुनासो पनि सुन्नुपर्छ,’ अञ्जनले भने ।
दक्षिणा प्रसादको रुपमा मान्ने अञ्जनका अनुसार दक्षिणको मौद्रिक मूल्य हुँदैन । उनले दशैंको नाममा नयाँ लुगा नकिनेको ३० वर्ष भइसकेको छ । देउसी खेल्न आउनेलाई आफ्नै उत्पादन चकलेट दिन्छन् । वर्षमा एकपल्ट धरती छाड्नुपर्छ भन्ने सोचले पिङ देखेसी चढ्न जान्छन् । तर खोजीखोजी पिङ खेल्ने गरेका छैनन् । नेपालीहरु गच्छेभन्दा बढी खर्च गरेर चाडपर्व मनाउने सम्झना गर्दै उनी भन्छन्, ‘दशैंले ऋण नलागोस्, दशा नलागोस् ।’
प्रस्तुत छ, महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँग क्लिमान्डुका लागि रोविन पौडेलले गरेको कुराकानीः