काठमाडौंका बाढी पीडितहरुको गुनासो: बालेनले वास्ता गरेनन्, खाना पाउनुभो भनेर पनि सोधेनन्



काठमाडौं । तीन दिनसम्म अविरल वर्षाका कारण बाढीपहिरोले देशभर चौपट पार्‍यो । राजधानी रहेको काठमाडौं उपत्यकामा नै दर्जनौं मानिसको उद्धार हुन नसकेर मृत्यु भयो ।

कतिपय बेपत्ता भए । बाढीपहिरो गइरहँदा धेरैले सामाजिक सञ्जालमा पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह कहाँ छन् भन्दै प्रश्न गरिरहेका थिए ।

बाढी तथा डुबानका कारण काठमाडौं उपत्यकाका बासिन्दाहरु पुनर्स्थपित हुन सकिरहेका छैनन् । ठूलो संख्यामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय काठमाडौंका पक्की घर समेत बाढीले भत्काएको छ । विशेषगरी काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहको आलोचना गर्न थालेका छन् ।

सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखे । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे ।

काठमाडौं महानगरपालिकाले गरिबलाई उठीवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ थियो ।

कामीले भने, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्था छैन । काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाइराखेको अवस्था छ । अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन । वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ । त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन । यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काइदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो ।’

स्थानीय सरकार र यसका प्रतिधिनिधिलाई नागरिकको अभिभावक भनिए पनि उपत्यकाका बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि मेयर साहले कुनै तत्परता नदेखाएको भन्दै नदी किनारका बासिन्दाहरु दुखी बनेका हुन् । यस्तै सरकारले सेवा सुविधा दिने कुरा सुनिए पनि हालसम्म नपाएको कामीको गुनासो छ ।

स्थानीय हरिमाया जिम्बाले भनिन्, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाइदियो । यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ । सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ । अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन् । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला । यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन । बालेन समेत यहाँ आएर खाना छ कि छैन, के छ त सेवा सुविधा भन्ने बारेमा सोधेका पनि छैनन् ।’

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


क्लिकमान्डु