महिला उद्यमीहरुलाई मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षारता कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा महासंघमा आवद्ध महिला उद्यमीहरुका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ कारोबार र सेवा सुविधा सम्बन्धी राखेका विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट पारिएको थियो ।

महासंघकी अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधाबारे जानकारी भएको र सहभागीहरुको जिज्ञासा स्पष्ट भएकाले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएकी थिइन् । उक्त कार्यक्रममा महासंघको तर्फबाट १ सय ५० जना महिला उद्यमीहरु सहभागी भएका थिए ।

देशका सबैजसो जिल्लाहरुमा महिला उद्यमीहरु महासंघमा आबद्ध रहँदै आएका छन् । यस्तै महासंघले महिला उद्यमीहरुका लागि विभिन्न उपयोगी कार्यक्रम सञ्चालन गर्दैआएको पनि अध्यक्ष ज्ञवालीले बताइन् । बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरुलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरु ल्याएको छ ।


क्लिकमान्डु