व्यापारिक मार्ग ‘दक्षिण चीन सागर’मा जहाज ठोक्किँदा चीन र फिलिपिन्सबीच तनाब, अमेरिका पनि सामेल



दक्षिण चीन सागरमा चीन र फिलिपिन्सको जहाज ठोक्किँदा दुई देशबीच तनाब बढेको छ । दुई देशको विवादमा अमेरिकाले फिलिपिन्सको साथ दिँदै चीनको आलोचना गरेको छ ।

एजेन्सी । साउथ चाइना सी अर्थात् दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीन र फिलिपिन्सका कोस्टगार्डका जहाज आपसमा ठोक्किँदा दुई देशबीच विवाद उत्पन्न भएको छ । यसरी जहाज ठोक्किनुमा दुबै देशले एकअर्कालाई दोषारोपण गरेका छन् ।

फिलिपिन्सले चिनियाँ जहाजले सिधै जानाजान आएर आफ्नो जहाजलाई ठक्कर दिएको आरोप लगाएको छ । चीनले पनि फिलिपिन्सको जहाज जानाजान आफ्नो जहाजमा आएर ठोकेको दाबी गरेको छ ।

यी दुई जहाज शनिबार दक्षिण चीन सागरको सबिना सोल नजिकै ठोक्किएका थिए । यसले‍ पहिलेदेखि नै विवादमा रहेको दुई देशको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

दक्षिण चीन सागरका केही भागलाई लिएर चीन र फिलिपिन्सबीच लामो समयदेखि नै विवाद रहँदै आएको छ । सागरका केही क्षेत्रलाई दुबै देशले आफ्नो दाबी गर्दै आएका छन् । पछिल्लो दुई साताको अवधिमा यस्ता तीन घटना भए । जसमध्ये जहाज ठोक्किनु पनि एक हो ।

सागरको सबिना सोल क्षेत्रलाई चीनले आफ्नो दाबी गर्दै आएको छ र फिलिपिन्सले पनि आफ्नो क्षेत्र भन्दै आएको छ । यो क्षेत्र फिलिपिन्सको पश्चिमी तटबाट ७५ नटिकल माइल टाढा पर्छ भने चिनियाँ तटबाट ६३० नटिकल माइल दक्षिणतर्फको दूरीमा पर्छ।

किन महत्त्वपूर्ण छ दक्षिण चीन सागर ?

यसैबीच दक्षिण चीन सागरको पूरै क्षेत्रलाई चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । विश्वभर हुने व्यापारको ८० प्रतिशत समुद्री मार्गबाट हुन्छ । र करिब एक तिहाइ व्यापार यही साउथ चाइना सी (दक्षिण चीन सागर) को मार्गबाट हुन्छ ।

यस क्षेत्रबाट वार्षिक रुपमा करिब ३.३७ ट्रिलियन डलरको व्यापार हुँदै आएको छ । यसैले पनि यस क्षेत्रमा धेरै देशको नजर पर्नु स्वभाविक मानिन्छ । विशेषगरी चीनसँग अन्य मुलुकहरुको विवादमध्ये प्रमुख कारण यही व्यापारिक मार्ग पनि एक हो ।

ताइवानसहित अन्य दर्जन जति चीनका छिमेकी देशहरु यही विषयलाई लिएर पनि रुष्ट बन्दै आएका छन् । जसमा नेपाल भने सामेल छैन । यससँगै चीन र अमेरिकाबीच विवादको एक कारओ यही क्षेत्र पनि हो । चीनले पूरै दक्षिण चीन सागरलाई आफ्नो मात्रै क्षेत्र दाबी गर्छ भने फिलिपिन्स, ब्रुनाइ, मलेसिया, ताइवान र भियतनामले पनि यसका केही क्षेत्रलाई आफ्नो दाबी गर्दै आएका छन् ।

पछिल्लो विवादबारे चिनियाँ कोस्टगार्डले फिलिपिन्सलाई चेतावनी दिँदै भनेको छ, ‘ उक्साउने, तनाब सिर्जना गर्ने र हाम्रो क्षेत्रमा आउने कुनै पनि गतिविधिलाई हामी परास्त परिदिन्छौं ।’

फिलिपिन्सको कोस्टगार्डले भने आफ्नो जहाजलाई उक्त क्षेत्रबाट पछि नहटाउने चेतावनी दिएको छ । ‘प्रताडित गर्ने र हेप्ने हर्कत साथै चीनको तनाब बढाउने कदमका बावजुद हाम्रो जहाज सोही क्षेत्रमा खडा रहनेछ,’ फिलिपिन्सको कोस्ट गार्डले भनेको छ ।

विवादमा अमेरिका पनि जोडियो

यस विवादलाई लिएर अमेरिकाले पनि प्रतिक्रिया जनाएको छ । फिलिपिन्सस्थित अमेरिकी राजदूतावासले फिलिपिन्सको जहाजलाई चीनले यसअघि पनि कैयौं पटक ठक्कर दिँदै आएको भन्दै चीनको गतिविधिप्रति असन्तुष्टि जनाएको छ ।

चिनियाँ ठक्करका कारण फिलिपिन्सको ९७ मिटर लामो जहाज टेरेसा मेगबनुआमा क्षति पुगेको अमेरिकी दूतावासको भनाइ छ । यसैबीच फिलिपिन्समा अवस्थित अमेरिकी राजदूत मेरिके एल कार्लसनले यस क्षेत्रमा चीनको यस्तो कारबाहीलाई खतरनाक भएको संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै चीनले पटक पटक अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् । साथै फिलिपिन्सको जहाजमाथि ठक्कर दिएको घटनाप्रति आपत्ति जनाए । फिलिपिन्सको जहाज सागरको इक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड)मा रहेको समयमा चीनले ठक्कर दिएको भन्दै त्यसप्रति दारजूतले आपत्ति जनाएका छन् । अमेरिकी राजदूत कार्लसनले अमेरिका फिलिपिन्सको साथमा रहेको जनाएका छन् ।

त्यसो त चीन र ताइवानबीचको विवादमा पनि अमेरिकाले पटक पटक चीनलाई दबाब दिँदै आएको छ । चीनले भने फिलिपिन्स र अमेरिकाले यस क्षेत्रमा कैयौं पटक तनाब बढाएको बताउँदै आएका छन् । गत साता चिनियाँ रक्षा मन्त्रालयले अमेरिकाले फिलिपिन्सलाई उक्साउँदै भड्काउने गतिविधि गरिरहेको भन्दै अमेरिकाको भूमिकाप्रति आपत्ति जनाएको थियो ।


क्लिकमान्डु