अधुरा जलविद्युत आयोजना समयमै सम्पन्न गर्न लागेका छौं: मन्त्री खड्का



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढीगण्डकी, माथिल्लो अरुण जस्ता ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताए । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी सरकारले अघि बढाएको पनि बताए ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना हुने खालका आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको पनि उनको भनाइ थियो । सरकार रोजगारी सिर्जनातर्फ उन्मुख रहेको भन्दै मन्त्री खड्काले कुनै पनि आयोजनाहरुको काम सम्पन्न गर्न इन्जिनियरहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताएका थिए ।

मन्त्री खड्काले भने, ‘अब सरकार रोजगारी सिर्जनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिबद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईँहरुलाई थाहा छँदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई ।’

समयमै सबै काम सम्पन्न भयो भने तमाम विदेशिन लागेका युवाहरुलाई यहीँ रोजगारी सिर्जना गर्न सकिने पनि उनको भनाइ थियो ।

‘मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढीगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरुले अब गति लिन सुरु गरेका छन् । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ,’ मन्त्री खड्काले भने । तर आयोजनाहरुको काम सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको बताएका थिए ।


क्लिकमान्डु