पञ्चकन्या ग्रुपः फैलँदो यश, खस्कँदो बिजनेस
कारोबार घटे पनि नाफा दर बढ्यो
काठमाडौं । ५२ वर्षअघि इलामको फिक्कलमा किराना पसलबाट व्यवसाय सुरु गरेका प्रेमबहादुर श्रेष्ठले व्यवसायिक घरानाको रुपमा पञ्चकन्या ग्रुपलाई स्थापित गरिसकेका छन् । पञ्चकन्या ग्रुपले राष्ट्रिय ब्रान्डको रुपमा अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा आफ्नो प्रभाव जमाएको छ ।
व्यावसायिक क्षेत्रमा पञ्चकन्याको यश वृद्धि भइरहेको छ । ग्रुपको ख्याती श्रेष्ठका पुत्रद्वय प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ तथा नातीहरू कार्यकारी निर्देशक प्रज्वलकुमार श्रेष्ठ र उदीप श्रेष्ठले धानिरहेका छन् ।
पञ्चकन्या ग्रुप अन्तर्गत पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक उद्योग प्रालि, पञ्चकन्या रोटोमोल्ड र पञ्चकन्या प्लास्ट आदि कम्पनी सञ्चालनमा छन् । यो व्यावसायिक घरानाले २ हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।
तर कोरोना महामारीपछि उत्पन्न अर्थतन्त्रमा देखिएको सुस्तताका कारण वस्तु र माग कम हुँदा पछिल्ला वर्षमा पञ्चकन्या ग्रुपको व्यापार अपेक्षाकृतरुपमा बढ्न सकेको छैन । विशेष गरी निर्माण क्षेत्रमा देखिएको चरम सुस्तताले पञ्चकन्यालाई प्रभाव पारेको छ । पञ्चकन्याका उत्पादनहरू स्टिल, पाइप एन्ड फिटिङ्स, पानीट्यांकी आदि सबै निर्माण क्षेत्रसँग सम्बन्धित छन् ।
आर्थिक वर्ष २०२२ मा १० अर्ब १० करोड ९० लाख रहेको ग्रुपको कुल व्यापार २०२३ मा ७ अर्ब ८६ करोडको रुपैयाँमा सीमित भएको छ । ग्रुपको व्यापार २०२१ को तुलनामा २०२२ मा बढेको थियो । सन् २०२१ मा ग्रुपले ८ अर्ब ६४ करोडको व्यवसाय गरेको थियो ।
ग्रुपको कारोबार घटेपनि नाफा मार्जिनमा भने सुधार आएको देखिन्छ । ग्रुपले सन् २०२२ मा कुल कारोबारको ७.१५ प्रतिशत नाफा गरेको थियो । नाफा ब्याज, कर र डिप्रिसिएसन अघिको हो । गत आर्थिक वर्षमा यस्तो नाफा सुधारिएर १०.१६ प्रतिशत कायम भएको छ ।
किराना पसलदेखि कर्पोरेट हाउससम्म
ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठ विगतमा कांग्रेस नेता बीपी कोइरालाको निकट रहेर राजनीतिमा पनि सक्रिय थिए । तर, आफ्नो परिवारको पालनपोषण गर्नुपर्ने दायित्व बढ्दै गएपछि राजनीति छाडेर फिक्कलमा किराना पसल सुरु गरेका थिए ।
किराना पसलबाट राम्रो कमाइ गरेपछि उनले झापामा आएर काठको व्यापार हुँदै इँटाभट्टा सुरु गरे । त्यसबेला उनले झापामा ६० बिघा जमिन किने । पञ्चकन्या ग्रुपको पहिलो उद्योग पनि त्यही इँटाभट्टा हो । पछि उनले झापामा चामल मिल स्थापना गरे । त्यो मिलबाट बङ्गलादेश, भुटान र भारतमा चामल निर्यात हुन्थ्यो ।
झापामा आफ्नो पहिचान बनाइसकेपछि उनको सोच आफ्नो व्यवसायलाई नेपालभर फैलाउने बन्यो । र, उनले आफ्ना छोरा ध्रुवकुमार श्रेष्ठको विवाह तत्कालीन राजा वीरेन्द्रका सचिव नगेन्द्रप्रसाद श्रेष्ठकी नातिनीसँग गराए । दरबारसँगको त्यही नाताका कारण उनले उद्योगको एउटा लाइसेन्स पाएका थिए । त्यसपछि भैरहवाको कोटिहवामा पञ्चकन्या प्लास्टिक, पञ्चकन्या आइरन र पञ्चकन्या स्टिलको उद्योग स्थापना गरेका थिए ।
ग्रुपको अध्यक्षको रुपमा प्रेमबहादुर श्रेष्ठ रहेका छन् भने प्रबन्ध निर्देशकमा प्रदिपकुमार श्रेष्ठ, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र प्रज्वलकुमार श्रेष्ठ कार्यकारी निर्देशक छन् ।
अब कुरा गराैं, पञ्चकन्या ग्रुपका कुम कम्पनीको पर्फर्मेन्स कस्तो ?
पञ्चकन्या रोटोमोल्डको व्यापार २६ प्रतिशतले घट्यो
पञ्चकन्या रोटोमोल्ड प्रालिको व्यापार २०२३ मा २६ प्रतिशतले खस्किएको छ । माग कम हुनुका साथै आर्थिक मन्दीका कारण कम्पनीको व्यापार खस्किएको हो ।
कम्पनीका अनुसार आव २०२२ मा १ अर्ब ५ करोडको कारोबार गरेकामा गत आवमा मात्रै ७८ करोडको व्यापार गरेको छ ।
आव २०२४ को मध्ये अप्रिलसम्म अर्थात् ९ महिनाको अवधिमा कम्पनीको व्यवसाय अझै १९ प्रतिशतले खस्किएको छ ।
कारोबार खस्किए पनि २०२३ मा कम्पनीको नाफा बढेको छ । गत वर्ष कम्पनीको नाफा कारोबार रकमको १२.१९ प्रतिशत छ । सन् २०२२ मा कम्पनीको नाफा ९.४२ प्रतिशत थियो । यो नाफा ब्याज, कर र डिप्रिसिएसनअघिको हो ।
रोटोमोल्ड कम्पनीले २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशतले व्यापार वृद्धि गरेको थियो । सन् २०२१ मा ८६ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२२ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२० मा जम्मा ४५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कोरोना महामारीपछि एकैचोटि वस्तु र माग बढ्दा व्यापार वृद्धि गरेको यस कम्पनीको पछिल्लो अवधिमा भने व्यापार खस्किएको हो ।
कम्पनीले वार्षिक ५ हजार ४ सय मेट्रिक टन युपीभीसी पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
उच्च प्रतिस्पर्धाका बीच कम्पनीले अस्थिर व्याजदरको सामना गर्नुपरेको छ । यस्तै विदेशी मुद्रामा उतारचढावको जोखिमका कारण कम्पनीको कच्चा पदार्थको मूल्यमा पनि अस्थिरता उत्पन्न भयो ।
विशेषगरी थाइल्यान्ड लगायत विदेशबाट कच्चा पदार्थ ल्याउनुपर्ने हुँदा विदेशी मुद्रामा उतारचढाव आउँदा कच्चा पदार्थ आयातमा पनि समस्या निम्त्यायो । जसले अन्ततः कम्पनीको नाफामा असर पारेको छ । यसैगरी उद्योग उच्च प्रतिस्पर्धामा रहँदा बजारमा लामो समयसम्म उधारोमा सामग्री दिनुपर्ने बाध्यता यस अवधिमा देखिएको छ ।
प्लास्टिक पाइप उद्योगको क्षेत्रमा धेरै ठूला र साना सबै किसिमका व्यावसायिक खेलाडीहरु असंगठित रुपमा रहेकाले यसमा बढी नै प्रतिस्पर्धा हुने गर्छ ।
पञ्चकन्या स्टिलको व्यापार २४ प्रतिशतले बढ्यो
अर्थतन्त्रमा देखिएको संकुचनको गम्भीर असर निर्माण क्षेत्रमा देखिँदा स्टिलको व्यापार खस्किएको छ । पञ्चकन्या स्टिलको व्यापार घटेको छ । सन् २०२२ मा ६ अर्ब ७५ करोड रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार २०२३ मा घटेर ५ अर्ब ११ करोड करोड रुपैयाँमा झरेको छ । यस्तै चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा स्टिल कम्पनीको आम्दानी २ अर्ब ५९ करोड ५० लाखमा सीमित भएको छ ।
२०२२ मा भने स्टिलको व्यापार २०२१ को तुलनामा २२ प्रतिशतले बढेको थियो । कम्पनीले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२० मा स्टिलले ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक १ लाख ५० हजार मेट्रिक टन स्टिलजन्य डण्डी उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीको नाफा ९.५ प्रतिशत पुगेको छ । २०२२ मा कर, ब्याज र डिप्रिसिएसनअघि कम्पनीको नाफा ६.२२ प्रतिशतमात्र थियो ।
पछिल्लो समय स्टिल कम्पनीले पनि अस्थिर ब्याजदरको सामना गर्नुपरेको छ । यस्तै विदेशी मुद्रामा अस्थिरताले कच्चा पदार्थको मूल्यमा पनि अस्थिरता निम्त्याएको । विशेषगरी स्टिलका लागि कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने अवस्था छ । तर विदेशी मुद्राको उतारचढावले कच्चा पदार्थको आयात प्रभावित बन्यो ।
२०२३ को अवधिमा कम्पनीको कुल सञ्चालन आयमा ८५ प्रतिशत खर्च कच्चा पदार्थमा नै भयो । स्टिल उद्योगमा अत्यन्त कडा प्रतिस्पर्धा र कम्पनीहरु असंगठित छन् । यसमा साना उद्योगीदेखि लिएर ठूला व्यावसायिक घरानाहरु पनि छन् । यसवाहेक यस व्यवसायको क्षेत्रमा उत्पादनको मूल्य अभिवृद्धि कम छ । जसकारण बजारमा उत्पादन भिन्नता पनि कम हुन्छ ।
कम्पनीले भारतबाट एमएस विलेट आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले व्यापार गरेकोमध्ये ९२ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।
प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रदिपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक रहेकोको कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ३ अर्ब ७४ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ को ९ महिनाको अवधिमा २९.८६ प्रतिशतले घटेको थियो ।
कम्पनीले सन् २०२३ मा कुल व्यापारको ५.३७ प्रतिशत नाफा गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा नाफामा असर पुगेको कम्पनीको भनाइ छ । कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा डण्डी बिक्री गर्दै आएको छ । कम्पनीको देशभर ९० वटा डिलर छन् ।
पञ्चकन्या प्लास्टको व्यापार २२ प्रतिशतले खस्कियो
२०२३ मा पञ्चकन्या प्लास्टले ७३ करोड ४० लाखको कुल व्यापार गरेको छ । आर्थिक वर्ष २०२२ को तुलनामा यस कम्पनीको व्यापार खस्किएको हो । २०२२ मा भने कम्पनीले ९३ करोड ६० लाखको व्यापार गरेको थियो । यस हिसावले २०२२ को तुलनामा २०२३ मा २० करोडभन्दा धेरैले व्यापार घटेको हो ।
आर्थिक मन्दीका बीच बिक्री घट्दा पन्चकन्या प्लास्टको व्यापार घटेको बताइएको छ । जसले २०२४ को मध्य अप्रिलसम्मको अवधिमा पनि राम्रो व्यापार बढाउन सकिरहेको छैन । पछिल्लो तथ्यांकअनुसार ४७ करोड ४० लाख मात्रै व्यापार गर्दै १४ प्रतिशत वार्षिक गिरावट देखिएको छ ।
सञ्चालन कार्यसम्पादनमा आएको गिरावटले २०२३ मा खुद घाटा निम्त्याएको छ । कम्पनी मूख्य रुपमा कच्चा पदार्थको आयातका लागि थाइल्यान्ड र सिंगापुरमा निर्भर हुने गर्छ । २०२३ को अन्त्यसम्म औसत क्रेडिटर पिरियड बढ्न पुग्यो । जसले कम्पनीको विस्तारित तरलता स्थितिको पनि संकेत गरेको छ ।
यस्तै अस्थिर व्याजदरको अवस्थाले पनि यस कम्पनीको व्यापारलाई असर पारेको हो । यससँगै वैदेशिक मुद्राको उतारचढावले यस कम्पनीको कच्चा पदार्थको आयातमा पनि असर पारेको थियो ।
व्यापार खस्किए पनि प्लास्ट कम्पनीले २०२३ मा नाफामा केही सुधार गरेको छ । कम्पनीले २०२२मा कुल आम्दानीको १४.१६ प्रतिशतमात्र रहेकामा २०२३ मा यस्तो नाफा छ । यसअघि २०२१ मा कम्पनीले ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा भने ९३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
पोलिप्रोपाइलिन र्यान्डम कोपोलिमर (पीपीआर) र क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड (सीपीभीसी) पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । वार्षिक ५ हजार मेट्रिक उत्पादन क्षमता भएको कम्पनी सन् २००३ मा स्थापना भएको थियो । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
जवकि २०२२ मा कम्पनीको नाफा १४.१६ प्रतिशत वार्षिक नाफा थियो । आर्थिक वर्ष २०२३ मा उच्च ब्याज साथै उधारोमा निर्भर हुँदा पीपीएलले १ करोड ४० लाखको घाटासहित ७ अर्ब ८६ करोडको व्यापार गरेको छ ।
पन्चकन्या प्लास्टिकको नाफा बढे पनि व्यापार खस्कियो
पन्चकन्या प्लास्टिकको आर्थिक वर्ष २०२३ मा अघिल्लो वर्षको तुलनामा व्यापार खस्किएको छ । यस अवधिमा प्लास्टिक कम्पनीले कुल १ अर्ब २३ करोड ३० लाखको व्यापार गर्दै ८.१९ प्रतिशत नाफा गरेको छ । कम्पनीको व्यापार २०२२ को तुलनामा वार्षिक रुपमा १० प्रतिशतले गिरावट भएको हो ।
जवकि २०२२ मा कम्पनीले १ अर्ब ३६ करोड ५० लाखको व्यापार गरेको थियो । यो गिरावट आउनुमा आर्थिक मन्दीसँगै बिक्रीको मात्रा घटेको देखाइएको छ ।
यद्यपि २०२३ मा नाफादर भने केही बढाएको छ । आर्थिक वर्ष २०२२ मा कम्पनीले जम्मा ५.२२ प्रतिशत नाफा गरेकोमा २०२३ मा ८.१९ प्रतिशत नाफा गरेको हो । यस्तै कम्पनीले सन् २०२१ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ व्यापार गरेकोमा सन् २०२० मा भने १ अर्ब २९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले एचडीपीई पाइप र फिटिङ उत्पादन गरी नेपाली बजारमा सन् १९८२ देखि निरन्तर वस्तु बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक ९ हजार मेट्रिक टन एचडीपीई उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ । यस कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा नै उत्पादन वस्तु बिक्री गर्दै आएको उल्लेख छ ।